
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले छठ पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले सूर्य, जल र प्रकृतिको आराधना गरिने यस पर्वले मानव जीवन र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्ने बताएका हुन्।
उनले छठ पर्वले प्रकृतिप्रति सम्मान, आस्था र कृतज्ञताको भावना विकास गर्नुका साथै वातावरण संरक्षण र प्राकृतिक स्रोतको महत्त्वबारे सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरेका छन्।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
प्रदेश प्रमुख भट्टले यस्ता सांस्कृतिक तथा धार्मिक पर्वले समाजमा विद्यमान विविधताको सम्मान गर्दै राष्ट्रिय एकता, अखण्डता र सामाजिक मेलमिलाप कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
उनका अनुसार छठ पर्वले सबै समुदायबीच आपसी समझदारी, सहयोग र सहकार्यको भावना विकास गर्दै शान्त, समृद्ध र एकताबद्ध राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गर्नेछ।
उनले छठ पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव र सहिष्णुताको भावना अझ सुदृढ बनाओस् भन्ने कामनासमेत गरेका छन्।
प्रदेश प्रमुख भट्टले छठ पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।