
मिति : २०८३ कात्तिक २५ गते (११ नोभेम्बर २०२६)
स्थान : भर्जिनिया, अमेरिका।
समाचार :
अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीको अदालतबाट दोषी ठहर भएका छन्।
अदालतमा भएको सुनुवाइपछि मंगलबार (नोभेम्बर १०) १२ सदस्यीय जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको तथा मृत शरीरको अपमान गरेको तीनवटै अभियोगमा दोषी ठहर गरेको हो।
सन् २०२४ जुलाईमा ममता सम्पर्कविहीन भएपछि उक्त घटना सार्वजनिक भएको थियो। अभियोजन पक्षले नरेशले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको दाबी गर्दै विभिन्न प्रमाण प्रस्तुत गरेको थियो।
सुनुवाइका क्रममा नरेशले ममताको शव टुक्राटुक्रा पारेर फालेको स्वीकार गरे पनि उनको हत्या आफूले नगरेको जिकिर गरेका थिए। तर जुरीले उनलाई हत्या अभियोगमा समेत दोषी ठहर गरेको हो।
ममताको शव भने हालसम्म फेला परेको छैन। अदालतले नरेशको सजाय निर्धारणका लागि सन् २०२७ मार्च १२ को मिति तोकेको छ।
यस घटनाले नेपाल तथा अमेरिकामा रहेका नेपाली समुदायमा समेत गहिरो चासो र चिन्ता उत्पन्न गराएको छ।
दृष्टि नेपाल अनलाइन न्युज