
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएर भाइटीका मनाउँदैछन्।
यस अवसरमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने परम्परा छ।
भाइटीकामा दाजुभाइलाई टीका लगाइदिएपछि दिदीबहिनीले मखमली, सयपत्री र दुबोको माला लगाइदिने तथा मिठाई, फलफूल र विभिन्न परिकार खुवाउने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्ने गर्छन्।
धार्मिक मान्यताअनुसार भाइटीकाका दिन यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा उनको घरमा गएको र यमुनाले दाजुलाई पूजा गरी टीका लगाइदिएको स्मरणमा यो पर्व मनाउन थालिएको हो।
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता, सद्भाव र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ।