२०८३ कार्तिक २८, शुक्रबार

हेटौंडा जाने यात्रुवाहक सवारीलाई समयसीमा

दक्षिणकाली–हेटौंडा रुटमा रात्रिकालीन सवारी सञ्चालनमा रोक, नयाँ समयतालिका लागू

दक्षिणकाली–हेटौंडा सडकमा राति सवारी चलाउन नपाइने, यस्तो छ नयाँ नियम
दक्षिणकाली–हेटौंडा रुटमा रात्रिकालीन सवारी सञ्चालनमा रोक, नयाँ समयतालिका लागू

२८ कात्तिक, काठमाडौं । काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा नयाँ समयतालिका निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार उक्त रुटमा रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाउँदै नयाँ व्यवस्था लागू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको सूचनाअनुसार अब काठमाडौंको बल्खुबाट दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्नेछ ।

त्यस्तै, बिहान ५ बजेपछि मात्र बल्खुबाट उक्त रुटमा यात्रुवाहक तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

पछिल्लो समय काठमाडौं–बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाका कारण मानवीय क्षति हुने क्रम बढेको भन्दै जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।

विशेषगरी साँघुरा सडकखण्ड, यान्त्रिक अवस्था ठीक नभएका सवारीसाधन, चालकको लापरबाही, तीव्र गति, भिरालो तथा घुम्ती सडक र रातको समयमा अँध्यारो सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको प्रशासनले जनाएको छ ।

त्यस्तै, मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सर्वसाधारणको ज्यान जोखिममा पर्ने गरेको गुनासोसमेत प्राप्त भएको सूचनामा उल्लेख छ ।

नयाँ व्यवस्थाअनुसार यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको अवस्था पूर्ण रूपमा चेकजाँच गरेर मात्र सञ्चालन गर्नुपर्नेछ ।

काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिटहरूले ट्राफिक प्रहरीसमेतको समन्वयमा प्रत्येक यात्रुवाहक सवारीसाधनको अनिवार्य चेकजाँच गर्ने व्यवस्था मिलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यात्रुहरूको सुरक्षा र सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागू गरिएको उक्त व्यवस्थाको पालना गर्न सम्बन्धित यातायात व्यवसायी, सवारी चालक तथा सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस