
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षा, हिमपात, मेघगर्जन, चट्याङ तथा असिनाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा साथै गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
रातिको समयमा हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
सम्भावित वर्षा, हिमपात, चट्याङ तथा असिनाको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई सतर्क रहन र पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिन आग्रह गरेको छ।