
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आइतबार बिहान चीनतर्फ प्रस्थान गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपाका प्रवक्ता जगदीश खरेलले प्रतिनिधिमण्डललाई बिदाइ गरेका थिए।
चीन भ्रमणका क्रममा रास्वपा र सीपीसीबीच सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान हुने महामन्त्री आचार्यले जानकारी दिएका छन्।
उनका अनुसार भ्रमणले नेपाल र चीनका राजनीतिक दलबीच आपसी समझदारी बढाउनुका साथै विकास सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सत्तारूढ दलको प्रतिनिधिमण्डल भएकाले भ्रमणका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबाट समान प्रकृतिका सुझाव प्राप्त भएको आचार्यले बताए।
उनले भ्रमणका क्रममा चीनका राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिनपिङसँग भेटघाटको कार्यक्रम नरहेको स्पष्ट पारे। यद्यपि बेइजिङमा सीपीसीका उच्चस्तरीय नेताहरूसँग भेटवार्ता तथा विभिन्न विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
विशेषगरी प्रविधि, कनेक्टिभिटी र सीमापार सहकार्यका विषयलाई भ्रमणमा प्राथमिकता दिइने उनको भनाइ छ।
यस्तो छ चीन भ्रमणको कार्यतालिका
प्रतिनिधिमण्डल आइतबार चीनको सिचुवान प्रान्तस्थित चेङ्दु पुग्नेछ। भ्रमणको सुरुवाती चरणमा टोलीले सिचुवानस्थित हाइटेक इन्टरप्राइजेज एन्ड इन्डस्ट्रियल पार्कको अवलोकन गर्ने कार्यक्रम छ।
कात्तिक ३० गते सीपीसीको पार्टी स्कुलका नेताहरूसँग भेटघाट तथा छलफल हुनेछ। उक्त कार्यक्रममा महामन्त्री आचार्यले रास्वपाका तर्फबाट धारणा राख्नेछन्।
मंसिर १ गते सन् २००८ को विनाशकारी भूकम्पबाट प्रभावित वेनचुआन क्षेत्रको भ्रमण गरी पुनर्निर्माणको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ। त्यस्तै, मंसिर २ गते सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा प्रतिनिधिमण्डल सहभागी हुनेछ।
मंसिर ६ गते झेजियाङ विश्वविद्यालयमा थिङ्क ट्याङ्क विकाससम्बन्धी गतिविधिको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। मंसिर ७ गते चीन–नेपाल इन्टरप्राइजेज म्याचमेकिङ कन्फ्रेन्समा सहभागी भएपछि टोली बेइजिङ प्रस्थान गर्नेछ।
मंसिर ८ गते बेइजिङमा सीपीसीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा विज्ञहरूसँग विभिन्न विषयमा छलफल हुनेछ। मंसिर १० गते भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल स्वदेश फर्किने कार्यक्रम रहेको महामन्त्री आचार्यले बताएका छन्।
रास्वपाले यस भ्रमणलाई चिनियाँ कम्युनिस्ट पार्टीसँग राजनीतिक संवाद विस्तार गर्ने, विकासका अनुभवबाट सिक्ने तथा नेपाल–चीन सम्बन्धमा पार्टीगत सहकार्यलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको छ।