
सुर्खेत । मुगुको रारा ताल जाने क्रममा हाइलक्स गाडी दुर्घटनामा परी मृत्यु भएका तीन जनाको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ ।
आइतबार मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लामा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनामा ज्यान गुमाएका काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको शव सुर्खेत ल्याएको हो ।
यसअघि सोमबार बिहानै सेनाको हेलिकोप्टरले दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ का गाडी चालक ५८ वर्षीय कञ्चन थापा र उनकी श्रीमती अञ्जु थापालाई उद्धार गरी सुर्खेत पुर्याएको थियो ।
उनीहरू रारा ताल घुम्नका लागि मुगु पुगेका पर्यटक रहेको बताइएको छ ।