
नवलपुर । नवलपुरको कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। धनगढीबाट काठमाडौं आउँदै गरेको बस सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–११, लोकाहामा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार बिहान करिब ६ः४० बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो।
दुर्घटनामा बसमा सवार २५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरी तथा उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाएको थियो। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
बस दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घाइते यात्रुहरूको विस्तृत परिचय तथा स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।
बस दुर्घटनापछि पूर्व–पश्चिम राजमार्गको लोकाहा क्षेत्रमा केही समय सवारी आवागमनसमेत प्रभावित भएको थियो।