
काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य अर्पण गरिँदैछ। सूर्यदेवको उपासना, आराधना र पूजाआजा गरी मनाइने छठ पर्वको विशेष दिनका रूपमा आजको दिनलाई लिइन्छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो। यस पर्वमा व्रतालुहरूले विभिन्न विधिअनुसार सूर्यदेवको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको कल्याणको कामना गर्ने धार्मिक परम्परा रहेको छ।
ऐतिहासिक तथा पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। लोककथनअनुसार सोही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।
त्यस्तै, सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ। व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक मान्यता छ।
छठ पर्वमा सूर्यलाई जीवन, ऊर्जा र शक्तिको स्रोतका रूपमा पूजा गर्ने गरिन्छ। यस पर्वमा विभिन्न फलफूल, ठेकुवा, कसारलगायत प्रसाद बाँसका सामग्रीमा सजाएर सूर्यदेवलाई अर्पण गर्ने परम्परा छ।
छठ पर्वमा व्रत तथा पूजा आराधना गरे दुःख र दरिद्रताबाट मुक्ति मिल्ने र परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठ पर्व विधिवत् रूपमा समापन गरिनेछ।