
८ असोज, काठमाडौं। नेकपा एमालेभित्र पछिल्लो समय चर्किएको नेतृत्व परिवर्तनको बहस तत्कालका लागि थाती राखिएको छ। पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले नेतृत्व परिवर्तनको विवादित विषय हटाएर एकीकृत प्रतिवेदन तयार गरेपछि तत्काल अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने विषय पार्टीको औपचारिक एजेन्डाबाट हटेको हो।
महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा समेटिएको नेतृत्व पुनर्गठनसम्बन्धी विषयलाई हटाएर कार्यदलले एउटै प्रतिवेदन बनाएको उपमहासचिव एवं कार्यदल सदस्य लेखराज भट्टले बताएका छन्। प्रदेश तथा विभिन्न निकायबाट आएका सुझावलाई भने प्रतिवेदनको अनुसूचीमा राखिएको छ।
यसअघि एमालेभित्र निर्वाचनपछिको समीक्षा र पार्टी पुनर्गठनसँगै नेतृत्व हस्तान्तरणको विषयमा बहस तीव्र बनेको थियो। महासचिव पोखरेलसहित केही नेताले पार्टी र नेतृत्व पुनर्गठनको आवश्यकता उठाएका थिए भने उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले तत्काल नेतृत्व परिवर्तनको विषय उठाउनु उपयुक्त नभएको धारणा अघि सारेको थियो।
केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले पनि पुनर्गठनलाई वैचारिक तथा संगठनात्मक सुधारका रूपमा व्याख्या गर्दै अध्यक्ष ओलीलाई हटाउने प्रस्ताव नभएको स्पष्ट पारेका थिए।
यससँगै एमालेको तत्कालीन राजनीतिक बहस नेतृत्व परिवर्तनभन्दा पार्टीको संगठनात्मक सुधार, पुनर्गठन र आगामी राजनीतिक रणनीतितर्फ केन्द्रित भएको देखिएको छ। यद्यपि पार्टीभित्र नीति र नेतृत्व पुनर्गठनको बहस पूर्ण रूपमा समाप्त भएको भने छैन। केही नेताले नेतृत्व पुनर्गठनको विषयमा आफ्नो धारणा कायम राखेका छन्।
पछिल्लो सचिवालय बैठकले केन्द्रीय कमिटीबाट पारित अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई एकरूपताका साथ कार्यकर्तास्तरसम्म लैजाने निर्णय गरेको छ। यसले तत्कालका लागि एमालेभित्र नेतृत्व परिवर्तनभन्दा पार्टीको निर्णय कार्यान्वयन र संगठन सुदृढीकरणलाई प्राथमिकता दिइएको संकेत गरेको छ।