
माघ २०, धनकुटा / धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका १७ मध्ये १२ जना उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अनिवार्य गरिएको छुट्टै बैंक खाता खोल्न आनाकानी गरिरहेका छन् । निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार निर्वाचन प्रयोजनको छुट्टै बैंक खाता नखोलेपछि आचारसंहिता अनुगमन समितिले चासो देखाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका १७ मध्ये हालसम्म ५ वटा राजनीतिक दलका उम्मेदवारले मात्रै निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन् ।छुट्टै खाता नखोल्ने र खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधिने, एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने बताएको छ ।