असार ३ काठमाडौं / क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य ‘किरण’ सोमबार साँझ डिस्चार्ज भएका छन् । स्वासप्रश्वास र निमोनियाबाट संक्रमित वैद्यको महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा सघन उपचारमा रहेका थिए ।
अघिल्लो महिना मातृशोकमा परेकै बेला वैद्यको स्वास्थ्यमा समस्या आएको थियो । आमाको काजक्रिया शुद्धमा गएकै बेला उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि गत जेठ १८ गतेदेखि शिक्षण अस्पतालको सघन कक्षमा राखेर उपचार गरिएको थियो ।
वैद्यको उपचारमा शिक्षण अस्पतालका स्वासप्रश्वास विज्ञ डा. निरज बम, डा. साक्षात्कार विष्ट तथा रविश मिश्र लगायतको टोली संलग्न थियो । वैद्य डिस्चार्जपछि पार्टीका कार्यवहाक महासचिव सीपी गजुरेलले उपचारमा संलग्न चिकित्सकको टोली, पार्टी नेता, कार्यकर्ता र शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेका छन् ।
‘डाक्टरहरु एवम् परिचारिकाहरुको अथक प्रयासले उहाँले स्वास्थ्य लाभ गर्नु भएको हो । हाम्रो पार्टी उहाँहरुको सेवाभावको उच्च सम्मान गर्दै उहाँहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्दछ’, गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘उहाँको उपचारको प्रक्रियामा प्रत्यक्षरुपमा अहोरात्र खट्ने हाम्रो पार्टीका जिम्मेवार कमरेडहरु, उपचारको प्रक्रियामा विभिन्न ढंगले सहयोग गर्ने नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण जनसमुदाय प्रति हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’