५ साउन काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी विधानका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत हुनेछ ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।
प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइएको बताइएको छ । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र बैठकमा बोल्ने अवसर पाउने छन् ।
पार्टीको साउन १ गते बसेको सचिवालय,२ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव गरिसकेको छ । उपाध्यक्ष पौडेलले विधानका यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।
केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ । भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।