९ असोज काठमाडौँ / गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये बुधबार एकैदिन ६२८ जना कारागार फर्किएका छन् ।
कारागार व्यवस्थापन विभागले आजसम्म सात हजार ७३५ कैदीबन्दी कारागारमा फर्किएका जानकारी दिएको छ ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार बुधबार एकैदिन सबैभन्दा धेरै ६२८ जना कैदीबन्दी कारागार फर्किएका हुन् । अधिकांश बैदीबन्दी आफैँ आइरहेका भन्दै कतिपयलाई पक्राउ गरेर ल्याइएको उनले बताए ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए । देशभरका कारागारमा ३० हजार ६४० कैदीबन्दी थिए । जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड तथा आगजनी हुँदा मुलुकभरका कारागारबाट कैदीबन्दी भागेका थिए । नेपालका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट उनीहरू भागेका हुन् ।