
१२ मंसिर, काठमाडौं / चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र पुल निर्माणको ठेक्का सरकारले तोडेको छ ।
हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले आज सार्वजनिक सूचना जारी गरी ठेक्का तोडिएको जानकारी दिएको हो । ४१ मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रा. लि. भरतपुरले पाएको थियो भने काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले ठेक्का तोडिएको आयोजना निर्देशनालय वीरगञ्जले जनाएको छ ।
निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो भने स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र निर्माण व्यवसायीका प्रतिनिधि पनि सम्पर्कमा नआएकाले ठेक्का तोडिएको हो । साथै हालसम्म अद्यावधिक काम र बाँकी कामको नापजाँच तथा मूल्यांकन गरी वित्तीय हिसाब किताब गर्न आजको मितिले १५ दिनभित्र उपस्थित हुनुपर्ने यदि निर्माण व्यवसायी वा निजको प्रतिनिधि उपस्थित नभएमा कार्यालयबाट नापजाँच हुने सूचनामा उल्लेख गरिएको छ ।