
माघ २१, काठमाडौं / प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न बुधबार सरोकारवाला पक्षहरूको बैठक बोलाएकी छिन् । बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रकम अभावमा सबै बिरामीले स्वास्थ्य बीमाको सुविधा पाउन सकेका छैनन् । नेपालका ठूला अस्पतालहरुले सूचना नै निकालेर बीमा सेवा दिन नसक्ने जनाएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बीमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी रहेकाले स्वास्थ्य बीमा सेवा दिन नसक्ने भन्दै सूचना जारी गरेको थियो । यस्तो समस्या अन्य अस्पतालहरुमा पनि देखिएपछि स्वास्थ्य बीमा बोर्डले गत सोमबार सूचना जारी गरेर एक आर्थिक वर्षमा बहिरंग (ओपिडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइने जनाएको थियो ।