
धादिङ, असार १३ – धुनिवेशी नगरपालिका–७ स्थित प्रस्तावित नगर अस्पताल (हाल नौबिसे स्वास्थ्य चौकी) मा शनिबार एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
धुनिवेशी नगरपालिका र स्वास्थ्य सहयोग नेपाल गुठीको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा मुटुरोग, हाडजोर्नी, दम, स्त्रीरोग तथा अन्य विभिन्न रोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।

शिविरबाट करिब ७ सय सेवाग्राहीले लाभ लिने अपेक्षा गरिएको छ। समाचार तयार पार्दासम्म ४ सयभन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिइसकेको धुनिवेशी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार अधिकारीले जानकारी दिए।
शिविरको उद्घाटन गर्दै नगर प्रमुख बालकृष्ण आचार्यले नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताए। आवश्यकता अनुसार आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तर सञ्चालन गरिने उनले प्रतिबद्धता व्यक्त गरे।
शिविरमा सेवा लिन आएका स्थानीयले काठमाडौंका अस्पतालमा मात्र पाइने विशेषज्ञ चिकित्सकको सेवा आफ्नै घरआँगनमा पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्।
धुनिवेशी नगरपालिकाले आगामी दिनमा पनि विभिन्न वडामा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने योजना बनाएको जनाएको छ। यसबाट विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न तथा असहाय नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।