२०८३ मंसिर २, मंगलबार

खुलामञ्चको हरियाली पुनःस्थापना

खुलामञ्चको हरियाली फर्काउन कांग्रेसको अभियान, दुबो रोप्न जुटे नेता–कार्यकर्ता

खुलामञ्चको हरियाली फर्काउन कांग्रेसको अभियान, ३० दिनमा पुनःस्थापना गर्ने लक्ष्य
खुलामञ्चको हरियाली फर्काउन कांग्रेसको अभियान, दुबो रोप्न जुटे नेता–कार्यकर्ता

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली पुनःस्थापना गर्न दुबो रोप्ने अभियान सुरु गरेको छ।
महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण तथा हजारौँ मानिसको चहलपहलका कारण खुलामञ्चको दुबो र हरियालीमा क्षति पुगेपछि कांग्रेसका नेता तथा कार्यकर्ता पुनःस्थापनाको काममा जुटेका हुन्।
आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोपण तथा संरक्षण अभियानमा सहभागी भएका छन्। क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको पार्टीले जनाएको छ।
कांग्रेसका अनुसार पछिल्लो एक महिनादेखि खुलामञ्चमा नियमित सिँचाइ, मलखाद तथा मर्मतसम्भारको कामसमेत भइरहेको छ।
महाधिवेशनपछि खुलामञ्चको हरियालीमा क्षति पुगेको भन्दै आलोचना भएपछि कांग्रेसले सार्वजनिक स्थललाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताअनुसार अहिले पुनःस्थापनाको काम अघि बढाइएको हो।
नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा खुलामञ्चमा पुगेको क्षतिलाई पार्टीले आफ्नो जिम्मेवारीका रूपमा लिएको बताए।
उनका अनुसार वर्षा र ठूलो संख्यामा मानिस तथा सवारीसाधनको आवतजावतका कारण अनुमान गरेभन्दा बढी क्षति पुगेको हो। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबै राजनीतिक दलको नैतिक दायित्व भएको उनले बताए।
त्यस्तै, कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले ऐतिहासिक टुँडिखेलको पहिचान, प्राकृतिक सौन्दर्य र महत्त्व जोगाउनु सबैको साझा जिम्मेवारी भएको बताइन्।
कांग्रेसका केन्द्रीय सदस्य जनक चट्टौत, लेखनाथ न्यौपाने र सीता मिजारले पनि सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको परिपूर्ति गर्ने प्रतिबद्धताअनुसार पार्टी पुनःस्थापनाको काममा सक्रिय भएको बताएका छन्।
खुलामञ्चको दुबो पुनःरोपण तथा मर्मतसम्भारको प्राविधिक जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्सका थमन भूसालका अनुसार अहिले प्रारम्भिक चरणको रोपण कार्य भइरहेको छ।
रोपिएको दुबोलाई व्यवस्थित गर्न माटो मिलाउने, खनजोत गर्ने, आवश्यक मलखाद राख्ने तथा नियमित सिँचाइ गरिनेछ। अहिलेको मौसमअनुसार दुबोलाई पूर्ण रूपमा स्थापित गरी खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन न्यूनतम ३० दिन लाग्ने अनुमान गरिएको उनले बताए।
यसैबीच कांग्रेसका नेताहरूले खुलामञ्चको दीर्घकालीन संरक्षणसँगै सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाएका छन्।
खुलामञ्च नागरिकले स्वतन्त्र रूपमा उपयोग गर्न पाउने सार्वजनिक स्थल भएकाले यसलाई घेराबन्दी गरेर सर्वसाधारणको पहुँच सीमित गर्न नहुने उनीहरूको भनाइ छ।
सार्वजनिक स्थल प्रयोग गर्दा त्यसमा पुगेको क्षतिको जिम्मेवारी आयोजकले नै लिनुपर्ने बहस भइरहेका बेला कांग्रेसले थालेको पुनःस्थापना अभियानलाई सार्वजनिक सम्पत्तिको संरक्षण र आयोजकको जवाफदेहितासँग जोडेर हेरिएको छ।
खुलामञ्चको हरियाली फर्काउन दुबो रोप्नुका साथै त्यसको नियमित हेरचाह, दीर्घकालीन संरक्षण र सर्वसाधारणको पहुँच सुनिश्चित गर्न सके मात्रै अभियान प्रभावकारी हुने देखिन्छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस