
झापा । झापाको कनकाई नगरपालिकामा काटेर खेतमै थुपारेर राखिएको १८ कट्ठा खेतको धानमा आगजनी हुँदा सम्पूर्ण धान जलेर नष्ट भएको छ ।
प्राप्त जानकारीअनुसार आइतबार राति करिब १ देखि २ बजेको बीचमा अज्ञात व्यक्तिले खेतमा थुपारेर राखिएको धानमा आगो लगाएका हुन् । आगलागीबाट १८ कट्ठा क्षेत्रफलमा लगाइएको धान पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ ।
अर्काको खेतमा मेहनत र पसिना बगाएर धान फलाएका किसानले घर भित्र्याउने तयारी गरिरहेका बेला आगजनी भएपछि ठूलो क्षति व्यहोर्नुपरेको छ । वर्षभरिको मेहनत खेतमै खरानी बनेपछि पीडित किसानमाथि बज्रपात परेको छ ।
घटनाका कारण किसानलाई ठूलो आर्थिक क्षति पुगेको छ भने घटनाले मानसिक रूपमा समेत पीडा दिएको छ ।
धानमा आगजनी कसले र किन गर्यो भन्ने विषयमा थप विवरण आउन बाँकी छ । घटनाबारे थप अनुसन्धानपछि वास्तविकता खुल्ने अपेक्षा गरिएको छ ।