
७ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले सुनुवाइ स्थगित भएको हो ।
यसअघि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक डा. केसीलाई म्याद बुझाउन पठाएको थियो । तर, उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो ।
त्यसपछि दानबहादुर कार्कीले सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा डा. केसी प्रहरी महानिरीक्षक रहेको उल्लेख गर्दै निवेदन र आदेश सच्याइएको थियो ।
म्याद बुझाउने प्रक्रिया बाँकी रहेकाले आजको सुनुवाइ स्थगित भएको हो । सर्वोच्च अदालतले अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन ।