
८ मंसिर, काठमाडौं । जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।
सार्वजनिक खरिद नियमावलीको संशोधित व्यवस्थाअनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बोलपत्र रद्द गरिएको उनको स्पष्टीकरण छ ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा उठेका प्रश्नको जवाफ दिँदै रजौरियाले विभागीय प्रमुखको हैसियतमा प्रचलित कानुन तथा सार्वजनिक खरिदसम्बन्धी व्यवस्था पालना सुनिश्चित गर्नुपर्ने जिम्मेवारीलाई प्राथमिकता दिएर निर्णय गरेको बताएका छन् ।
टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द गरिएको भन्दै निर्णय त्रुटिपूर्ण रहेको दाबीसहित लेखा समितिमा उजुरी परेको छ । उक्त उजुरीमाथि समितिको आजको बैठकमा छलफल भइरहेको छ ।
छलफलका क्रममा रजौरियाले बोलपत्र रद्द गर्नुको उद्देश्य कानुनविपरीत हुन सक्ने खरिद प्रक्रियालाई अघि बढाउनुको सट्टा कानुनसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रिया सुनिश्चित गर्नु रहेको बताएका छन् ।
उनका अनुसार सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनअनुसार एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका संरचनाको खरिद प्रक्रियामा रेटेड प्वाइन्ट क्राइटेरिया अवलम्बन गर्नुपर्ने व्यवस्था छ ।
रजौरियाले एभरेज प्राइसिङमा आधारित मूल्यांकन विधिभन्दा रेटेड प्वाइन्ट क्राइटेरियामा आधारित मूल्यांकन विधिबाट प्राविधिक क्षमता, अनुभव, कार्यसम्पादन क्षमता तथा अन्य निर्धारित मापदण्डको समग्र मूल्यांकन गर्न सकिने बताएका छन् ।
जटिल प्रकृतिका संरचना निर्माणका लागि उपयुक्त र सक्षम निर्माण व्यवसायी छनोट गर्न उक्त विधि प्रभावकारी हुने उनको दाबी छ । यसले आयोजनाको गुणस्तर, निर्माण कार्यको प्रभावकारिता, समयमै सम्पन्न हुने सम्भावना र सार्वजनिक खर्चको सदुपयोग सुनिश्चित गर्न सहयोग पुग्ने उनले बताएका छन् ।
संशोधित नियमावलीअनुसार बोलपत्रसम्बन्धी कागजात तयार गरी पुनः प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउँदा भविष्यमा आउन सक्ने कानुनी विवाद तथा प्रक्रियागत जटिलता न्यूनीकरण हुने उनको भनाइ छ ।
बोलपत्र रद्द गर्ने निर्णय कुनै व्यक्ति वा पक्ष विशेषको हितलाई ध्यानमा राखेर नभई सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था पालना, प्रतिस्पर्धात्मक खरिद प्रणालीको सुनिश्चितता, आयोजनाको गुणस्तर र सार्वजनिक हितलाई केन्द्रमा राखेर गरिएको उनले समितिसमक्ष स्पष्ट पारेका छन् ।
‘कुनै पनि सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाउँदा तत्कालीन प्रक्रियागत सुविधाभन्दा प्रचलित कानुनको पालना, सार्वजनिक स्रोतको अधिकतम सदुपयोग र दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिनु जिम्मेवार प्रशासनिक पदाधिकारीको कर्तव्य हो,’ उनको स्पष्टीकरणमा उल्लेख छ ।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया रद्द गरिएको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये तीन कम्पनी प्राविधिक मूल्यांकनमा योग्य ठहरिएका थिए । उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला खरिद प्रक्रिया रद्द गर्ने निर्णय भएपछि विवाद उत्पन्न भएको थियो ।
आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको बोलपत्र रद्द भएपछि निर्णयको औचित्य, खरिद प्रक्रिया र त्यसको आधारबारे प्रश्न उठेको थियो ।
महानिर्देशक रजौरियाले भने संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया अघि बढाउनु उपयुक्त हुने निष्कर्षमा पुगेपछि बोलपत्र रद्द गर्ने निर्णय गरेको बताएका छन् ।
विभाग तथा मातहतका निकायबाट भएका कामकारबाहीबारे संसदीय समितिले राखेका जिज्ञासा, चासो र सरोकारलाई उच्च महत्त्वका साथ लिने उल्लेख गर्दै उनले थप जानकारी, स्पष्टीकरण वा परामर्शका लागि समितिले बोलाए आवश्यक कागजात तथा प्रमाणसहित उपस्थित हुने प्रतिबद्धता पनि जनाएका छन् ।