
८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दसम्बन्धी आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।
समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएका छन् ।
‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु,’ सभापति खड्काले भने ।
कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने उनले बताएका छन् ।
सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रिया रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द गरिएको भन्दै प्रक्रिया त्रुटिपूर्ण रहेको दाबी गरिएको छ ।
उजुरी प्राप्त भएपछि समितिले आजको बैठकमा छलफल थालेको हो । छलफलमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालगायत उपस्थित थिए । रजौरियाले भने ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।
बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको यस आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।
आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ गते भएको थियो । तर, त्यसपछि आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन ।