
८ मंसिर, काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएपछि प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार झडप नियन्त्रणमा लिन प्रहरीले सोमबार बिहान पौने ४ बजेतिर हवाई फायर गरेको हो ।
चिसापानीमा लागेको मेलामा राति आगो बालेर बसेका दुई समूहका युवाबीच विवाद भएपछि झडप भएको थियो । झडपका क्रममा ढुंगामुढा हानाहान हुनुका साथै अगुल्टोले समेत प्रहार भएको प्रहरीले जनाएको छ ।
झडप छुट्याउन पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण भएको थियो । आक्रमणमा प्रहरी सहायक निरीक्षक (सई) सहित चार जना प्रहरी घाइते भएका छन् ।
दुई पक्षबीचको झडपले मानवीय क्षतिको अवस्था आउन सक्ने भएपछि स्थिति नियन्त्रणमा लिन इन्सास राइफलबाट ८ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
झडपमा परी एक जना सर्वसाधारण घाइते भएका छन् । उनको उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चिसापानीमा लागेको उक्त मेला जागरण युवा क्लब चिसापानी बाँकेले आयोजना गरेको हो ।