२०८३ मंसिर ११, बिहिबार

ग्लोफ सञ्जीवनी परियोजना

चार हिमतालको पानीको सतह घटाइँदै, ४९.९४ मिलियन डलरको ‘ग्लोफ सञ्जीवनी’ परियोजना सुरु

चार हिमतालको पानीको सतह घटाइँदै, ४९.९४ मिलियन डलरको परियोजना सुरु
चार हिमतालको पानीको सतह घटाइँदै, ४९.९४ मिलियन डलरको ‘ग्लोफ सञ्जीवनी’ परियोजना सुरु

१० मंसिर, काठमाडौं । हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) को जोखिम न्यूनीकरण तथा हिमाली समुदायको जीवन र जीविकोपार्जन सुरक्षित गर्न नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले ४९.९४ मिलियन अमेरिकी डलर लागतको ‘ग्लोफ सञ्जीवनी’ परियोजना सुरु गरेका छन् ।

सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने परियोजनाबाट हिमताल विस्फोटजन्य बाढीको जोखिममा रहेका ३ लाख ८५ हजारभन्दा बढी मानिस प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । प्रत्यक्ष लाभान्वितमध्ये ५५ प्रतिशत महिला रहनेछन् । परियोजनाको प्रभाव क्षेत्रका तल्लो तटीय नदी जलाधारमा बसोबास गर्ने करिब २० लाख मानिसले अप्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।

परियोजनाको औपचारिक सुरुवातका लागि मंगलबार काठमाडौंमा आयोजित कार्यशालामा सरकारी अधिकारी, हरित जलवायु कोष (जीसीएफ), यूएनडीपी, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, प्राविधिक विज्ञ र विकास साझेदार सहभागी थिए ।

परियोजनाअन्तर्गत मनाङको डोना (ठूलागी), संखुवासभाको तल्लो बरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होङ्गु–२ हिमतालको पानीको सतह घटाइने छ ।

डोना, तल्लो बरुण र लुम्दिङ छो हिमतालको पानीको सतह तीन मिटर तथा होङ्गु–२ को एक मिटर घटाउने योजना छ । हिमतालको पानीको सतह घटाएर सम्भावित विस्फोटजन्य बाढीको जोखिम कम गर्ने परियोजनाको लक्ष्य छ ।

हिमतालको सतह घटाउनेदेखि पूर्वसूचना प्रणाली विस्तारसम्म

हिमतालको पानीको सतह घटाउनुका अतिरिक्त जलवायु जोखिमसम्बन्धी सूचना तथा योजना प्रणाली सुदृढ गर्ने, जलविज्ञान तथा मौसमसम्बन्धी अनुगमन विस्तार गर्ने र पूर्वसूचना प्रणाली स्थापना तथा सुधार गर्ने परियोजनाको लक्ष्य छ ।

नदी जलाधार क्षेत्रका तल्लो तटीय भागमा बाढीको जोखिम कम गर्न प्रकृतिमा आधारित उपाय तथा सुरक्षात्मक पूर्वाधार निर्माण पनि गरिनेछ ।

मर्स्याङ्दी, अरुण, दूधकोशी र लोअर बरुण नदी क्षेत्रका जोखिमयुक्त स्थानमा पूर्वसूचना प्रणाली विस्तार गरिने परियोजनामा जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रमार्फत कार्यान्वयन हुनेछ ।

हरित जलवायु कोषको ३६.१६ मिलियन डलर अनुदान

कुल ४९.९४ मिलियन अमेरिकी डलर लागतको परियोजनामा हरित जलवायु कोषले ३६.१६ मिलियन डलर अनुदान दिनेछ । नेपाल सरकारले ११.३२ मिलियन डलर, यूएनडीपीले २.१४ मिलियन डलर र निजी क्षेत्रका साझेदारले ०.३२ मिलियन डलर सहवित्तीय योगदान गर्नेछन् ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक एवं प्रवक्ता डा. राजन भट्टराईका अनुसार परियोजना सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव नवीन राज सिंहले परियोजना प्रभावकारी कार्यान्वयनका लागि एकीकृत र सहकार्यमा आधारित दृष्टिकोण अपनाइने बताए ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलाई उत्कृष्टता केन्द्रका रूपमा विकास गर्ने तथा जलविद्युत् प्रवर्द्धक, निजी क्षेत्र र अन्य सरोकारवालासँगको सहकार्य सुदृढ गर्ने लक्ष्य रहेको उनले बताए ।

हिमतालको क्षेत्रफल ३० वर्षमा २५ प्रतिशत बढ्यो

हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण हिमनदी पग्लिने र हिमताल विस्तार हुने क्रम तीव्र बनेको भन्दै परियोजनाले विपद् आएपछि प्रतिक्रिया दिने परम्परागत अभ्यासबाट अघि बढेर जोखिम न्यूनीकरणमा जोड दिने यूएनडीपीले जनाएको छ ।

नेपालका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले दुई महिनाअघि रसुवा–भोटेकोशी र गण्डकी नदी जलाधार क्षेत्रमा भएका बाढीका घटनाले जलवायुजन्य जोखिम छोटो समयमै मानवीय तथा आर्थिक विपद्मा परिणत हुन सक्ने देखाएको बताइन् ।

विपद् आएपछि प्रतिकार्य गर्नुको सट्टा जोखिमको पूर्वानुमान, न्यूनीकरण र विकासका लगानीलाई सुरक्षित गर्ने दिशामा परियोजनाले काम गर्ने उनको भनाइ छ ।

परियोजनाका मुख्य प्राविधिक अगुवा तथा समन्वयकर्ता दीपक केसीका अनुसार सन् १९८७ देखि २०१७ सम्म नेपालका हिमतालहरूको समग्र क्षेत्रफल २५ प्रतिशत बढेको छ । हिमताल विस्तारको यो प्रवृत्तिले जलवायु परिवर्तनको प्रभावसँगै हिमतालजन्य विपद्को जोखिमसमेत बढ्दै गएको संकेत गर्ने उनले बताए ।

चार हिमतालको पानीको सतह घटाउँदा लाखौं मानिसको जीवन सुरक्षित हुने भएकाले परियोजनाको नाम ‘सञ्जीवनी’ राखिएको उनले जानकारी दिए ।

जलवायु जोखिम न्यूनीकरणलाई विकास प्राथमिकतासँग जोडिने

अर्थ मन्त्रालयका सहसचिव तथा हरित जलवायु कोषका लागि राष्ट्रिय निर्दिष्ट निकाय अमृत लम्सालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको बताए ।

परियोजनामार्फत जोखिम न्यूनीकरणका प्रयासलाई राष्ट्रिय विकास प्राथमिकता र जवाफदेहिताको ढाँचासँग जोड्ने उनको भनाइ छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले हिमाली क्षेत्रमा तीव्र परिवर्तन भइरहेकाले हिमताल विस्फोटको जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने बताए । हिमतालको बाँधमा सानो क्षति हुँदा पनि ठूलो आर्थिक क्षति हुन सक्ने भन्दै उनले वातावरणीय तथा सामाजिक सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर पानीको सतह घटाउने काम अघि बढाइने बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले पूर्वसूचना प्रणाली सुदृढ गर्नु भनेको विज्ञानमा आधारित सूचना सम्भावित विपद् आउनुभन्दा पर्याप्त समयअघि समुदायसम्म पुर्‍याउनु रहेको बताए ।

सरकार, विकास साझेदार, निजी क्षेत्र र स्थानीय समुदायको संयुक्त प्रयासबाट जोखिमलाई उत्थानशीलतामा रूपान्तरण गर्न सकिने उनको भनाइ छ ।

कोशी प्रदेश सरकारका वन मन्त्रालयका सचिव इन्द्रप्रसाद सापकोटाले परियोजना कार्यान्वयनमा प्रदेश र स्थानीय सरकारको सक्रिय सहभागिता आवश्यक रहेको बताए । कोशी नदी जलाधार क्षेत्रलाई प्राथमिकतामा राखेको परियोजनामा विपद् जोखिम न्यूनीकरणका लागि संघीय सरकारसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।

परियोजनाका लक्षित पालिकामध्ये मनाङको नासो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले तथ्यमा आधारित भूउपयोग योजना, विस्तृत अनुसन्धान र स्थानीय समुदायको सहभागितामार्फत सुरक्षित बस्ती विकास तथा जीविकोपार्जन सुधारमा परियोजनाले योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे ।

परियोजना जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रमार्फत कार्यान्वयन हुनेछ । कार्यान्वयनमा चुरे तथा संवेदनशील जलाधार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सहकार्य गरिनेछ ।

अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल पनि परियोजनाका प्रमुख साझेदार रहनेछन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस