२०८३ मंसिर १२, शुक्रबार

मधुमाया बगाले सहकारी ठगी

सहकारी ठगीमा गाउँपालिका कार्यपालिका सदस्य बगाले दोषी ठहर, ४ वर्ष २ महिना कैद

सहकारी ठगीमा मधुमाया बगाले दोषी ठहर, ४ वर्ष २ महिना कैद
सहकारी ठगीमा गाउँपालिका कार्यपालिका सदस्य बगाले दोषी ठहर, ४ वर्ष २ महिना कैद

१० मंसिर, पोखरा । लमजुङको जनकल्याण बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा मर्स्याङ्दी गाउँपालिकाकी कार्यपालिका सदस्य मधुमाया बगाले दोषी ठहर भएकी छन् । जिल्ला अदालत लमजुङले बगालेलाई ४ वर्ष २ महिना कैद र १ करोड ७५ लाख रुपैयाँ जरिवाना सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सहकारीको सेवा केन्द्र प्रमुख वीरेन्द्र गुरुङलाई पनि समान कैद र जरिवाना हुने फैसला गरेको छ । उनीहरू दुवैबाट सहकारीको रकम भराउने आदेशसमेत भएको छ ।

सहकारीका कर्मचारी अनिषा क्षेत्रीलाई कसुरमा मतियार ठहर गर्दै ३ महिना कैद सजाय सुनाइएको छ ।

अदालतले बगाले र गुरुङबाट ८ करोड ५० लाख रुपैयाँ सहकारीमा भराउन आदेश दिएको छ । सहकारीको ८ करोड ५६ लाख २४ हजार ९८५ रुपैयाँ बिगो माग दाबी गर्दै २०८१ फागुन ११ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

अदालतले प्रतिवादीहरूले विभिन्न निकायमा गरेको कागज, बयान तथा वित्तीय विश्लेषकको प्रतिवेदनसमेतलाई आधार बनाएर सजाय निर्धारण गरेको जनाएको छ ।

साँवा ८ करोड ५६ लाखसहित ब्याज भराउन आदेश

अदालतको फैसलाअनुसार जनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई २०८१ साउन १० गतेसम्मको साँवा ८ करोड ५६ लाख २४ हजार ९८५ रुपैयाँ र त्यसपछि बिगो भरिभराउ हुँदासम्म सहकारीले कर्जामा निर्धारण गरेको ब्याजसमेत प्रतिवादीबाट दामासाहीले भराउनुपर्ने छ ।

प्रतिवादी मधुमाया बगाले र वीरेन्द्र गुरुङको परिवारका नाममा कायम गरिएका ऋणको साँवा तथा ब्याजको दायित्व उनीहरू आफैंले व्यहोर्नुपर्ने अदालतको ठहर छ ।

सहकारीको करिब ११ करोड रुपैयाँ ठगी गरेको अभियोगमा यसअघि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

सहकारी रजिस्ट्रार कार्यालय गण्डकीको पत्रका आधारमा वित्तीय विश्लेषक निर्मल गौतमले सहकारीको वित्तीय अवस्था विश्लेषण गरी अनुसन्धानका लागि सिफारिस गरेका थिए । सोही प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

नक्कली कर्जा खडा गरी रकम हिनामिना

जनकल्याण बचत तथा ऋण सहकारीको ङादी सेवा केन्द्रमा नक्कली कर्जा खडा गरी रकम हिनामिना गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा उल्लेख थियो ।

सेवा केन्द्र प्रमुख वीरेन्द्र गुरुङसँग मिलेर सहकारीको रकम हिनामिना गरेको भन्दै बगालेविरुद्ध सहकारी रजिस्ट्रार कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा वित्तीय विश्लेषण गरी अनुसन्धान अघि बढाइएको थियो ।

बगालेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधतर्फ समेत सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो । तर, जिल्ला अदालतका स्रेस्तेदार रामबाबु गौतमका अनुसार सम्पत्ति शुद्धीकरण र संगठित अपराधतर्फ दाबी नपुग्ने ठहर गर्दै सहकारी ठगीमा कसुर ठहर गरिएको हो ।

२७ सदस्यबाट सुरु भएको सहकारीमा १३ हजारभन्दा बढी सदस्य

२०५४ सालमा स्थापना भएको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय लमजुङको सदरमुकाम बेसीसहरमा छ । सहकारीका जिल्लाका विभिन्न स्थानमा ८ वटा सेवा केन्द्र रहेको उल्लेख छ ।

सहकारीका प्रबन्धक झमप्रसाद गुरुङका अनुसार २७ जना सेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले १३ हजार ५३६ सदस्य पुगेका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा सहकारीले ७१ करोड २३ लाख २२ हजार ५१ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४६ करोड ९५ लाख ७५ हजार १९२ रुपैयाँ ऋण लगानी गरेको विवरण छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस