२०८३ मंसिर ११, बिहिबार

राराब क्याम्पस शुल्क घोटाला

राराब क्याम्पसको शुल्क घोटालामा दोषीलाई कारबाही गर्ने त्रिवि उपकुलपतिको प्रतिबद्धता

राराब क्याम्पसको २० करोड शुल्क घोटालामा दोषीलाई कारबाही गर्ने त्रिवि उपकुलपतिको प्रतिबद्धता
राराब क्याम्पसको शुल्क घोटालामा दोषीलाई कारबाही गर्ने त्रिवि उपकुलपतिको प्रतिबद्धता

१० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा. भोला थापाले जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थीको शुल्क घोटालामा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

क्याम्पसमा विद्यार्थीको शुल्कमा २० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको समाचार सार्वजनिक भएपछि उपकुलपति थापाले घोटालासम्बन्धी छानबिन प्रतिवेदन अध्ययन भइरहेको बताएका हुन् ।

‘छानबिन समितिले प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन अध्ययन गरिरहेका छौँ,’ उपकुलपति थापाले भने, ‘प्रतिवेदनअनुसार दोषीलाई त्रिवि र प्रचलित कानुनअनुसार कारबाही गर्छौं ।’

थापाले आफूहरूको नयाँ टोली आएपछि विश्वविद्यालयभित्रका विभिन्न बेथिति र अनियमितताबारे जानकारी प्राप्त हुन थालेको भन्दै अन्य क्याम्पसमा पनि शुल्क घोटालाबारे छानबिन गरिने बताए ।

‘राराबमा मात्र होइन, अन्य ठाउँमा पनि खोजी गरिरहेका छौँ । हाम्रो एजेन्डा नै त्रिविमा सुशासन कायम गर्ने हो । बेथितिका फाइल खोल्न सुरु भएको छ,’ उनले भने ।

राराब क्याम्पसमा शुल्क घोटालाबारे त्रिविको केन्द्रीय कार्यालयले छानबिन गरेको थियो । उक्त समितिले ठूलो रकम अनियमितता भएको निष्कर्षसहित दोषीलाई कारबाही गर्न र रकम फिर्ता गराउन सिफारिस गरेको छ ।

त्रिविको नियमअनुसार आर्थिक अनियमिततामा संलग्न कर्मचारीलाई बर्खास्त गर्नेसम्मको कारबाही गर्न सकिने व्यवस्था छ । उपकुलपति थापाले पनि त्रिविको नियमअनुसार दोषीमाथि कारबाही गरिने प्रतिबद्धता जनाएका छन् ।

विद्यार्थीको शुल्कमा भ्रष्टाचार भएको यो घटना त्रिविमा अहिलेसम्मकै ठूलो घोटाला भएको दाबी गरिएको छ । घोटाला लुकाउन राराब क्याम्पसका कर्मचारी सञ्जय दासको नेतृत्वमा रहेको टोलीले २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरी धेरै प्रमाण नष्ट गरेको बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस