
१० मंसिर, काठमाडौं । काठमाडौंको टेकुस्थित बायोग्यास प्लान्टको उत्पादन परीक्षण सुरु भएको छ । ‘काठमाडौं जलवायु कार्य सप्ताह २०२६’ को अवसर पारेर बुधबार प्लान्टको उत्पादन परीक्षण गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले संयुक्त रूपमा प्लान्टको उद्घाटन गरेका हुन् ।
उत्पादन परीक्षणपछि प्लान्ट सञ्चालनका लागि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
टेकुस्थित फोहोर व्यवस्थापन केन्द्रबाट निस्कने जैविक फोहोर प्रशोधन गरी बायोग्यास तथा मिथेन ग्यास उत्पादन गर्ने उद्देश्यले प्लान्ट सञ्चालनमा ल्याइएको हो । फोहोरलाई ऊर्जामा रूपान्तरण गर्दै वातावरणीय प्रदूषण कम गर्ने र स्वच्छ, हरित तथा वातावरणमैत्री काठमाडौं निर्माणमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
लामो समयदेखि बन्द रहेको प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौं महानगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग गत साउन दोस्रो सातातिर सम्झौता गरेको थियो ।
महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजनाअन्तर्गत २०७२ सालमा निर्माण सुरु भएको प्लान्ट २०७५ सालदेखि सञ्चालनमा आएको थियो ।
प्लान्ट सञ्चालन हुँदा दैनिक तीन मेट्रिकटन जैविक फोहोरबाट १४ किलोवाट बिजुली, ३०० किलो जैविक मल र १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यसका लागि काठमाडौं महानगरपालिका र युरोपेली संघले एक करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए ।