
९ मंसिर, काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीहरूले घोषणा गरेको लाभांश सबै लगानीकर्ताको हातमा पुग्ने गरेको छैन । पाँच वर्षसम्म लगानीकर्ताले दाबी नगरेको नगद लाभांश कम्पनीहरूले लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्ने गरेका छन् । यस्तो रकम अहिले करिब १ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
कम्पनी रजिस्ट्रार कार्यालयअन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोषमा हालसम्म ६३ कम्पनीले १ अर्ब १९ करोड ९५ लाख रुपैयाँ जम्मा गरेका छन् । वर्षौंदेखि लगानीकर्ताले नलिएको लाभांश यसरी कोषमा जम्मा हुँदै आएको हो ।
कम्पनी रजिस्ट्रार कार्यालयकी लेखा अधिकृत शर्मिला पाण्डेका अनुसार घोषणा गरिएको लाभांश पाँच वर्षसम्म लगानीकर्ताले नलिएपछि कम्पनीहरूले कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।
‘लाभांश घोषणा गरेको तर ५ वर्षसम्म पनि लगानीकर्ताले नलगेको रकम अरू धेरै कम्पनीमा पनि हुन सक्छ, ती कम्पनीलाई पनि कोषमा ल्याउने प्रयास भइरहेको छ,’ पाण्डेले भनिन् ।
कोषमा सबैभन्दा धेरै रकम नबिल बैंकको जम्मा भएको छ । नबिल बैंकको वितरण हुन नसकेको २३ करोड ७४ लाख रुपैयाँ नगद लाभांश कोषमा जम्मा भएको छ ।
त्यस्तै, एनआईसी एसिया बैंकको १३ करोड २६ लाख, एनएमबी बैंकको ८ करोड ४९ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८ करोड ४६ लाख, कृषि विकास बैंकको ८ करोड २८ लाख, नेपाल एसबीआई बैंकको ८ करोड १० लाख र सिटिजन्स बैंकको ८ करोड ७ लाख रुपैयाँ कोषमा जम्मा भएको छ ।
चिलिमे जलविद्युत् कम्पनीको ५ करोड ३२ लाख, कुमारी बैंकको ४ करोड ४४ लाख र सिद्धार्थ बैंकको ४ करोड २० लाख रुपैयाँ पनि कोषमा रहेको छ ।
कोषमा जम्मा हुने रकम बर्सेनि बढ्दै गएको देखिन्छ । २०८१ असार मसान्तसम्म कोषमा ५७ करोड ४६ लाख रुपैयाँ मात्रै रहेकोमा दुई वर्षको अवधिमा रकम झन्डै दोब्बर पुगेको हो ।
कोषमा सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी युनिलिभर नेपालदेखि बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सम्मले रकम जम्मा गरेका छन् । अधिकांश बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीसँगै जलविद्युत् र उत्पादनमूलक कम्पनीहरू पनि कोषमा सहभागी छन् ।
लगानीकर्ताले लाभांश नलिनुको प्रमुख कारण सेयर डिम्याट नहुनु रहेको बताइएको छ । सीडीएस एन्ड क्लियरिङको तथ्यांकअनुसार ८४ करोड ७३ लाख कित्ता सेयर अझै डिम्याट भएका छैनन् । कुल सूचीकृत सेयरमध्ये डिम्याट नभएको सेयरको हिस्सा ४.०५ प्रतिशत छ ।
नेपालमा हाल सूचीकृत सेयर संख्या २० अर्ब ८७ करोड ५९ लाख कित्ता पुगेको छ । डिम्याट नभएका सेयर प्रमाणपत्र कागजी रूपमा रहेका, हराएका वा नष्ट भएका हुन सक्नेछन् ।
सेयर प्रमाणपत्र डिम्याट नभएको अवस्थामा नगद लाभांश पनि बैंक खातामा जम्मा हुन नसक्ने कम्पनी रजिस्ट्रार कार्यालयकी लेखा अधिकृत पाण्डे बताउँछिन् ।
सेयर डिम्याट गर्दा बैंक खाता पनि जोडिने भएकाले डिम्याट भएपछि मात्रै नगद लाभांश बैंक खातामा जाने व्यवस्था रहेको उनले बताइन् ।
कम्पनीहरूले पटक–पटक सार्वजनिक सूचना जारी गर्दै सेयर प्रमाणपत्र डिम्याट गर्न र लाभांश लिन सम्पर्कमा आउन आग्रह गर्दै आएका छन् । कृषि विकास बैंकका सचिव हिमलाल पौड्यालका अनुसार सम्पर्क नम्बर उपलब्ध भएका कतिपय सेयरधनीलाई फोनमार्फत जानकारी गराउने गरिएको भए पनि धेरैको सम्पर्क विवरण उपलब्ध छैन ।
‘हामीले पटक पटक सार्वजनिक सूचना जारी गर्दै सेयर डिम्याट गर्न र लाभांश लैजान सेयरधनीलाई आग्रह गर्दै आएका छौँ,’ पौड्यालले भने, ‘सम्पर्क नम्बर भएका कतिपयलाई फोनबाट जानकारी गराएका हुन्छौँ, तर धेरैको हकमा सम्पर्क नम्बर उपलब्ध छैन ।’
सेयर प्रमाणपत्र हराएको वा नष्ट भएको अवस्थामा पनि लगानीकर्ताले आफ्नो सेयर रहेको प्रमाणित गरे लाभांशसहित सेयर प्राप्त गर्न सक्ने उनले बताए ।
‘यदि सेयर प्रमाणपत्र हराएको वा नष्ट भएको भनेर कोही आउँछ भने उसको व्यक्तिगत विवरण रुजु गरी लाभांश, बोनससहितको सेयर डिम्याट खातामा जान्छ,’ उनले भने ।
नेपालमा २०७३ सालदेखि सेयर डिम्याट खाता अनिवार्य गरिएको हो । त्यसअघि लाभांश लिन लगानीकर्ता आफैं कम्पनीसम्म पुग्नुपर्ने बाध्यता थियो । थोरै लाभांश लिन जाँदा यातायात खर्च नै बढी हुने भएकाले कतिपय लगानीकर्ताले लाभांश लिन चासो नदेखाउने गरेका थिए ।
पछिल्लो समय भने एक रुपैयाँ लाभांशसमेत बैंक खातामा जम्मा हुने व्यवस्था भएकाले लाभांश वितरण सहज भएको छ । कृषि विकास बैंकका पौड्यालका अनुसार पछिल्ला वर्षमा लगानीकर्ताले नलगेको लाभांश तुलनात्मक रूपमा घटेको भए पनि पुरानो लाभांश अझै कोषमा रहेको छ ।
लगानीकर्ता संरक्षण कोषमा जम्मा भएको लाभांश सम्बन्धित लगानीकर्ताले जुनसुकै समयमा दाबी गर्न सक्ने व्यवस्था छ ।
कम्पनीमा गएर आवश्यक प्रक्रिया पूरा गरेपछि कम्पनीले रकम फिर्ताका लागि सिफारिस गर्छ । त्यसपछि कोषबाट रकम कम्पनीको खातामा फिर्ता गरिन्छ र कम्पनीमार्फत सम्बन्धित लगानीकर्तालाई भुक्तानी गरिन्छ ।
गत आर्थिक वर्षमा मात्रै कोषबाट ५५ लाख ५७ हजार रुपैयाँ सम्बन्धित कम्पनीहरूलाई फिर्ता गरिएको कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांक छ ।
लगानीकर्ताले आफ्नो पुरानो लाभांश दाबी गर्दा साँवा रकम पाए पनि त्यसबाट प्राप्त ब्याज भने पाउने छैनन् । कोषको ब्याज लगानीकर्ता सचेतना तथा सुरक्षासम्बन्धी गतिविधिमा खर्च गर्ने उद्देश्य राखिएको भए पनि कम्पनी रजिस्ट्रार कार्यालयले कार्यालयको खर्चमा प्रयोग गर्दै आएको लेखा अधिकृत पाण्डेले बताएकी छन् ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने ब्याज रकम लगानीकर्ताको हितमा खर्चिनुपर्ने बताएका छन् ।
‘प्राप्त रकम वास्तवमा ग्रामीण क्षेत्रमा पूँजी बजारसम्बन्धी शिक्षा, चेतना अभिवृद्धि तथा उपयोगी तालिमका लागि खर्चिनु पर्दथ्यो,’ ढकालले भने, ‘तर एउटा सरकारी कार्यालयले दैनिक प्रयोजनमा खर्चिनु राम्रो होइन ।’
उनले कोषमा जम्मा भएको साँवा रकम सुरक्षित राख्नुपर्ने र ब्याज रकम लगानीकर्ताको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।