
१० मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सिसडोलको फोहोरबाट दैनिक ३ हजार किलो हटाउने गरी काम सुरु गर्ने योजना रहेको बताएका छन् ।
बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो विषय भएको बताए । उनले काठमाडौं महानगरपालिकाले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने बताए ।
‘बञ्चरे डाँडामा फोहोरलाई यो पटक हामी तीन हजार किलो हटाउँदैछौं दैनिक । विस्तारै यसलाई स्केलअप गरेर एक दिन एउटा सपना हामी पनि के देख्यौं भन्दा काठमाडौं महानगरले आफ्नो एक किलो फोहोर पनि कतै पनि ल्याण्डफिल्ड साइटमा लगेर प्रदुषित गर्दैन भन्ने एउटा सपना हामी पनि देख्न सक्छौं,’ मन्त्री श्रेष्ठले भने ।
सरकारको ‘एलपीजी मुक्त स्थानीय सरकार’ भन्ने उद्देश्यलाई पनि यस कामले सहयोग पुग्ने उनको भनाइ छ । यसका लागि नीतिगत अस्पष्टता रहे पनि आवश्यक छलफल र समन्वय गरेर अघि बढ्ने उनले जानकारी दिए ।
‘एलपीजी मुक्त स्थानीय तह घोषणा गर्दा एकै पटक त हुँदैन, तर सुरुवात कहीँबाट भयो भने यो कार्यक्रमले सम्बोधन गर्नेछ । यसमा आम नागरिकमा जनचेतना अभिवृद्धि र सक्रियता आवश्यक छ । घरबाटै फोहोर वर्गीकरणका लागि काठमाडौं महानगरपालिकाले केही कार्यक्रम ल्याउनैपर्छ,’ उनले भने ।
मन्त्री श्रेष्ठले अन्तरस्थानीय सरकारसँग पनि समन्वय गरेर फोहोर व्यवस्थापनको काम अघि बढाउन काठमाडौं महानगरपालिकालाई आग्रह गरे ।
महानगरपालिकाले अघि सारेका तीन कार्यक्रममध्ये काठमाडौंलाई रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास निकाल्ने काम पूरा भएको उनले बताए । काठमाडौंको फोहोरबाट १४ किलोवाट विद्युत् उत्पादन हुने अनुमान गरिएको भए पनि उपकरण बिग्रिएकाले तत्काल विद्युत् उत्पादन सम्भव नरहेको उनको भनाइ छ ।
विद्युत् उत्पादनका लागि आवश्यक उपकरण मर्मत गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई निर्देशन दिइसकेको मन्त्री श्रेष्ठले जानकारी दिए।