
काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट अनुचित रूपमा रकम असुलिएको प्रकरणमा पक्राउ परेका तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारी गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा उक्त प्रकरणमा कुँवरको प्रत्यक्ष संलग्नता नदेखिएको स्रोतले जनाएको छ । उनलाई सोमबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराउने तयारी भइरहेको सीआईबी स्रोतको भनाइ छ ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराका अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ । कुँवरलाई हाजिर जमानीमा रिहा गर्ने वा नगर्ने भन्ने निर्णय भने सम्बन्धित निकायले गर्नेछ ।
यस प्रकरणमा पक्राउ परेका तत्कालीन श्रम सचिव तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्ने क्रममा कुँवरको नाममा अर्याल आफैँले निर्णय गरी रकम प्रवाहसम्बन्धी कागजातमा हस्ताक्षर गरेको पाइएको सीआईबी स्रोतले जनाएको छ ।
प्रकरणमा अनुसन्धान जारी रहेकाले थप तथ्य र प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।