२०८३ मंसिर २, मंगलबार

५० देखि ६० वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने तयारी, ट्याक्स रिफर्म २.० लाई निरन्तरता दिइने

एक–दुई हप्ताभित्र ३० देखि ३५ नयाँ आर्थिक सुधारका कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा

एक–दुई हप्ताभित्र ३५ नयाँ आर्थिक सुधारका कार्यक्रम ल्याउने अर्थमन्त्रीको घोषणा
एक–दुई हप्ताभित्र ३० देखि ३५ नयाँ आर्थिक सुधारका कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा

१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी एकदेखि दुई हप्ताभित्र ३० देखि ३५ वटा नयाँ आर्थिक सुधारका कार्यक्रम समेटिएको प्याकेज सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

उनले आर्थिक सुधार निरन्तर चलिरहने प्रक्रिया भएको भन्दै जेठ १५ गते बजेट सार्वजनिक भएपछि पनि सरकार सुधारका काममा सक्रिय रहेको बताए ।

‘जेठ १५ मा बजेट आयो, अब अर्को जेठ १५ सम्म कुरेर बस्ने भन्ने हाम्रो छँदै छैन,’ उनले भने, ‘पूर्वाधार सम्मेलनको सन्निकट ५० देखि ६० वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने गरी ठूलो ओम्निबस रिफर्मको तयारी भइरहेको छ । आगामी बजेटमा ट्याक्स रिफर्म २.० लाई निरन्तरता दिइनेछ ।’

अर्थमन्त्री वाग्लेले भोटेकोसी राहत प्याकेज र पुँजीबजार सुधारका लागि सरकारले ल्याएको २१ बुँदे कार्यक्रमले सकारात्मक नतिजा दिन थालेको पनि बताए । उनका अनुसार सेयर बजार अहिले स्वस्थ लयमा फर्किएको छ ।

कर फर्छ्योटमा आएको अवसर सदुपयोग गर्न आग्रह

अर्थमन्त्री वाग्लेले नेपालको कर तथा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात २० देखि २१ प्रतिशत हुनुको अर्थ करको दर उच्च हुनु नभई राजस्व परिचालनको अवस्था राम्रो हुनु रहेको स्पष्ट पारे ।

उनले यस वर्ष सरकारले ऐतिहासिक रूपमा करको दायरा फराकिलो बनाउँदै करका दरमा समेत भारी कटौती गरेको दाबी गरे ।

१० देखि १५ वर्षदेखि शुल्क, दस्तुर, ब्याज र जरिवानाको बोझले थिचिएर कर तिर्न नसक्ने अवस्थामा पुगेका करदाताका लागि सरकारले आर्थिक ऐनमार्फत कर विवाद समाधान र स्वैच्छिक कर अनुपालनासम्बन्धी विशेष व्यवस्था ल्याएको उनले बताए ।

अर्थमन्त्री वाग्लेले उक्त व्यवस्थालाई करदाताका लागि ‘बम्पर उपहार’ को संज्ञा दिँदै आगामी पुस महिनाभित्रै यसको लाभ लिन आग्रह गरे ।

‘यस्ता स्किम पटक–पटक आउँदैनन्,’ उनले भने, ‘यो अवसरको उपयोग गरेर करदाताहरू तङ्ग्रिनुहोस् । यसको प्रचारप्रसारमा आन्तरिक राजस्व विभाग अझ सशक्त भएर लाग्नुपर्छ ।’

उनले तत्काल कुनै कर दर वा अभ्यासका कारण उद्योगी तथा व्यवसायीलाई अन्याय वा मर्का परेको भए आर्थिक ऐनको दफा १८ मा टेकेर भए पनि सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले आगामी दिनमा कर प्रणालीलाई थप व्यवस्थित बनाउँदै उद्योगी, व्यवसायी तथा करदातामैत्री आर्थिक वातावरण निर्माण गर्ने उनको भनाइ थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस