
१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।
यस वर्ष सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरेको छ । प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिँदै राजस्वमा योगदान पुर्याउनुका साथै रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै भाटभटेनीलाई विशेष सम्मान गरिएको हो ।
२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो । उक्त घटनाबाट कम्पनीले अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको थियो ।
ठूलो क्षति हुँदाहुँदै पनि कम्पनीले एक जना कर्मचारीको समेत रोजगारी नगुमाई पुनः लगानी गरेर अधिकांश स्टोर सञ्चालनमा ल्याएको जनाएको छ । यही योगदानको कदर गर्दै सरकारले भाटभटेनीलाई विशेष सम्मान गरेको हो ।
व्यक्तिगततर्फ राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल सम्मानित
राष्ट्रिय कर दिवसका अवसरमा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् ।
त्यस्तै, संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ ।
सरकारले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । कर दिवसका अवसरमा विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्ने परम्परा छ ।