
१ मंसिर, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
कार्कीले गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । त्यसपछि सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकका लागि सुनुवाइको मिति तोकेको थियो । तर सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएका कारण सुनुवाइ सरेको थियो ।
तिहार र छठ पर्वको बिदापछि मंगलबारदेखि अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको हो ।
बुधबार एक न्यायाधीशको इजलासमा कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।
सरकारले गत १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र आफू अन्यायमा परेको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
अब सर्वोच्च अदालतको प्रारम्भिक सुनुवाइपछि उक्त रिटमा के आदेश हुन्छ भन्ने चासो बढेको छ ।