
काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अपनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रहरी अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक केसीले वित्तीय अपराधको स्वरूप परिवर्तन हुँदै जाँदा अनुसन्धानका चुनौतीसमेत बढ्दै गएको बताए ।
‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशाला ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा बोल्दै केसीले वित्तीय अपराधमा प्रविधिको बढ्दो प्रयोगसँगै सिर्जना भएका नयाँ चुनौती सामना गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अपरिहार्य रहेको बताए ।
उनले कार्यशालाबाट वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण हुनुका साथै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान हुने विश्वास व्यक्त गरे ।
वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सम्बन्धित सरकारी निकाय, वित्तीय नियामक संस्था, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो । उनले सूचना आदानप्रदान, सहकार्य र संस्थागत समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा समेत जोड दिए ।
कार्यशालामा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका पदाधिकारी तथा बैंक, वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सोही अवसरमा प्रहरी महानिरीक्षक केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ नामक पुस्तकसमेत लोकार्पण गरेका थिए । उक्त पुस्तकले नेपाल प्रहरीले अनुसन्धान गरेका महत्त्वपूर्ण घटनाको अभिलेखीकरण तथा अनुसन्धानका अनुभव आदानप्रदानमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यशालाले वित्तीय अपराध अनुसन्धानमा संलग्न विभिन्न निकायबीच सहकार्य विस्तार गर्नुका साथै प्रमाणमा आधारित अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।