
१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई अदालतले पुनर्बहाली गरे पनि काम गर्न नदिने चेतावनी दिएका छन् ।
हिमालय टेलिभिजनसँगको कुराकानीमा चौधरीले अदालतबाट कार्कीको पक्षमा फैसला आए पनि उनलाई आईजीपीका रूपमा काम गर्न नदिने बताएका हुन् ।
‘म तपाईंलाई यत्ति भन्छु– जस्ट इन केस, अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गर्यो भने पनि आईजीपी बन्नुहुन्न् । त्यस्तो मान्छेलाई राख्नै हुन्न नि अब,’ उनले भने ।
चौधरीले दानबहादुर कार्कीबाट प्रहरी संगठन सञ्चालन हुन नसक्ने दाबीसमेत गरे । उनले कार्कीलाई पूर्ववत् रूपमा काम गर्न नदिन सरकारले अन्य वैधानिक विकल्प खोज्न सक्ने संकेत गरेका छन् ।
सरकारले नयाँ पद सिर्जना गरेर आईजीपीबाट हटाएपछि पुनर्बहालीको माग गर्दै निवर्तमान आईजीपी कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
कार्कीले २० कात्तिकमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा प्रारम्भिक सुनुवाइको मिति तोकेको भए पनि सरकारले उक्त दिन छठ पर्वको बिदा दिएकाले सुनुवाइ सरेको थियो ।
सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने मिति तोकेको छ । एक न्यायाधीशको इजलासमा कार्कीको निवेदनमाथि सुनुवाइ हुने तय भएको छ ।
अदालतमा रिट विचाराधीन रहेकै अवस्थामा रास्वपा सहप्रवक्ता चौधरीको यस्तो अभिव्यक्ति आएको हो ।