
१९ कात्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । बिहीबार भएको खेलमा लुम्बिनीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो ।
यस जितसँगै लुम्बिनीले जारी सिजनमा खेलेका तीनवटै खेलमा जित निकालेको छ । चितवन राइनोजविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनीले अंक बाँडेको थियो ।
जनकपुरलाई हराएपछि चार खेलबाट ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ । यससँगै लुम्बिनीले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
पाँच खेल खेलिसकेको जनकपुरको भने यो तेस्रो हार हो । यो हारपछि जनकपुरलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब परेको छ ।
जनकपुरका लागि आठौँ नम्बरमा ब्याटिङ गर्न आएका कप्तान हर्मीत सिंहले सर्वाधिक ३३ रन बनाए । उनले २० बलमा ३ छक्का प्रहार गरे । त्यस्तै, नवौँ नम्बरमा आएका आदित्य महताले २३ बलमा ४ चौकाको मद्दतमा अविजित ३० रन बनाए ।
६५ रनमै ५ विकेट गुमाएको जनकपुरलाई कप्तान हर्मीत र आदित्यले सम्हाल्ने प्रयास गरेका थिए । यी दुईबीच आठौँ विकेटका लागि ४३ रनको साझेदारी भएको थियो । तर १८औँ ओभरको चौथो बलमा हर्मीत आउट भएपछि जनकपुरको जितको सम्भावना कमजोर बनेको थियो ।
त्यस्तै, बंगलादेशी खेलाडी सेफ हसनले २५ बलमा ४ चौकाको मद्दतमा २८ रन बनाए । ओपनर तृतराज दासले १८ बलमा १ चौकासहित १८ रन जोडे ।
जनकपुरका परभेज हुसेन इमोन १, विशाल सुशलिङ ४, अनिल शाह १ र जिमी निशम ९ रनमा आउट भए । अभिषेक तिवारीले भने खाता खोल्न सकेनन् ।
लुम्बिनीका लागि डार्सी सर्टले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान १ विकेट लिए ।
रोहितको ३८ रनमा लुम्बिनीले बनाएको थियो १४९ रन
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । निरोशन डिकवेलाले २७ बलमा २ चौका र १ छक्काको मद्दतमा २७ रन जोडे ।
आसिफ शेख र दिलीप नाथले समान २१ रन बनाए भने शामिन हुसेनले १३ रनको योगदान दिए । ओपनर डार्सी सर्ट खेलको पहिलो बलमै आउट भएका थिए ।
रुबेन ट्रम्पलम्यानले ८ बलमा २ छक्काको मद्दतमा १५ रन बनाए । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले ९ रन बनाए ।
जनकपुरले लुम्बिनीविरुद्ध १७ ओभर स्पिन बलिङ गराएको थियो । जनकपुरका स्पिनरले ४ र तीव्र गतिका बलरले ३ विकेट लिए ।
जनकपुरका लागि विशाल सुशलिङ र राहुल यादवले समान २ विकेट लिए । विशालले ४ ओभरमा २१ रन खर्चिए भने राहुलले २ ओभरमा १७ रन दिए । कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले समान १ विकेट लिए ।