
काठमाडौं । यस वर्षको तिहार नजिकिँदै गर्दा सामाजिक सञ्जालमा २०८५ सालको तिहारबारे पनि चर्चा सुरु भएको छ । विशेषगरी २०८५ सालमा लक्ष्मीपूजाको झन्डै एक महिनापछि मात्रै भाइटीका पर्ने दाबीसहितका सामग्री सामाजिक सञ्जालमा फैलिरहेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरणअनुसार २०८५ सालको कात्तिक २ गते लक्ष्मीपूजा पर्ने र त्यसको भोलिपल्टदेखि अधिकमास (मलमास) सुरु हुने उल्लेख छ । त्यसपछि मंसिर १ गतेसम्म अधिकमास रहने र मंसिर २ गते गोवर्धन पूजा तथा ३ गते भाइटीका पर्ने दाबी गरिएको छ ।
दसैँ सकिनुअघि नै सुरु भएको यो चर्चाले धेरैको ध्यान तानेको छ । कतिपयले यसलाई अनौठो खगोलीय संयोग भन्दै भिडियोसमेत बनाएर प्रचार गरिरहेका छन् ।
तर, २०८५ सालमा वास्तवमै लक्ष्मीपूजाको एक महिनापछि भाइटीका पर्ने हो त ? यस विषयमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका निवर्तमान कार्यकारी निर्देशक पण्डित आचार्य लक्ष्मण पन्थीले प्रारम्भिक गणनाअनुसार त्यस्तो सम्भावना देखिए पनि अहिल्यै आधिकारिक रूपमा पुष्टि गर्न नसकिने बताएका छन् ।
उनका अनुसार हालसम्म २०८४ सालकै पञ्चाङ्गको निर्णय भइसकेको छैन । यस्तो अवस्थामा २०८५ सालको तिथिमिति र चाडपर्वबारे अहिले नै ठोकुवा गर्नु उचित हुँदैन ।
पन्थीका अनुसार अहिलेसम्म प्रयोग हुँदै आएको पञ्चाङ्गीय सिद्धान्तअनुसार २०८५ सालको कात्तिक १ गते बिहान ११ बजेर १७ मिनेटसम्म कृष्ण चतुर्दशी रहनेछ । त्यसपछि औँसी सुरु भएर कात्तिक २ गते बिहान ८ बजेर ५९ मिनेटसम्म रहने प्रारम्भिक गणना छ ।
त्यसपछि कात्तिक ३ गतेदेखि अधिकमास सुरु हुने र मंसिर १ गते साँझ ७ बजेर २० मिनेटसम्म रहने देखिन्छ । यस आधारमा मंसिर २ गते गोवर्धन पूजा र मंसिर ३ गते भाइटीका पर्ने सम्भावना रहेको उनले बताए ।
यद्यपि, लक्ष्मीपूजा भने कात्तिक १ गते नै मनाउनुपर्ने देखिन्छ । पन्थीका अनुसार लक्ष्मीपूजा मनाउन प्रदोषकालमा औँसी तिथि हुनुपर्छ । कात्तिक २ गते औँसी बिहान ८ बजेर ५९ मिनेटसम्म मात्रै रहने भएकाले प्रदोषकालमा औँसी पर्ने दिन कात्तिक १ गते हुनेछ ।
उनले अधिकमासको बीचमा कुनै पनि पर्व नपर्ने भएकाले त्यसपछि शुद्ध पक्षको तिथिअनुसार चाडपर्व मनाउनुपर्ने बताए ।
के हो अधिकमास र क्षयमास ?
पन्थीका अनुसार सूर्य र चन्द्रमासको संयोजनका आधारमा सामान्य महिना, अधिकमास र क्षयमास गरी तीन प्रकारका महिना हुन्छन् ।
एउटा चन्द्रमासभित्र एउटा मात्रै सङ्क्रान्ति परेमा सामान्य महिना हुन्छ । एउटा चन्द्रमासभित्र कुनै पनि सङ्क्रान्ति नपरेमा अधिकमास हुन्छ भने दुईवटा सङ्क्रान्ति परेमा क्षयमास हुने गर्छ ।
एउटा औँसीदेखि अर्को औँसीसम्मको अवधिलाई एक चन्द्रमास भनिन्छ । चन्द्रमासको यही गणनाका आधारमा अधिकमास र क्षयमास निर्धारण गरिन्छ ।
प्रारम्भिक गणनाअनुसार २०८५ सालमा कात्तिक र चैतमा अधिकमास तथा पुसमा क्षयमास पर्ने सम्भावना रहेको पन्थीले बताए । तर, यस्तो अवस्था कुन वर्ष पर्छ भन्ने कुरा सामान्य पात्रो हेरेर मात्रै निर्धारण गर्न नसकिने उनको भनाइ छ । त्यसका लागि खगोलीय गणना र सम्बन्धित पञ्चाङ्ग आवश्यक पर्छ ।
भारतमा भने फरक गणना हुन सक्छ
पन्थीका अनुसार २०८५ सालको अधिकमाससम्बन्धी विषय नेपालमा मात्रै सीमित छैन । भारतमा पनि विभिन्न स्थानमा फरक–फरक सिद्धान्तमा आधारित पञ्चाङ्ग प्रकाशित हुने भएकाले त्यहाँको गणनालाई पनि ध्यान दिनुपर्ने हुन्छ ।
भारतमा प्रचलित दृक् सिद्धान्तअनुसार भने २०८५ सालमा अधिकमास देखिने सम्भावना नरहेको उनले बताए ।
यस्तो संयोग विगतमा पनि देखिएको उनको भनाइ छ । २०७७ सालमा श्राद्ध पक्ष सकिएलगत्तै अधिकमास सुरु भएका कारण सामान्य अवस्थामा भोलिपल्ट हुनुपर्ने घटस्थापना एक महिनापछि परेको थियो । यसअघि २०३९ सालमा पनि यस्तै अवस्था देखिएको उनले जानकारी दिए ।
२०८५ सालको पात्रोको निर्णय कहिले हुन्छ ?
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हालसम्म २०८४ सालको पात्रोसमेत स्वीकृत गरिसकेको छैन । विगतको अभ्यास हेर्दा २०८५ सालको पञ्चाङ्गसम्बन्धी निर्णय २०८४ सालको पुस वा माघ महिनातिर मात्रै हुने सम्भावना रहेको पन्थीले बताए ।
त्यसपछि मात्रै २०८५ सालका चाडपर्वको वास्तविक तिथि र मिति स्पष्ट हुनेछ ।
त्यसैले अहिले सामाजिक सञ्जालमा २०८५ सालको तिहारबारे फैलिएका दाबीलाई आधिकारिक निर्णयका रूपमा लिन नहुने उनको सुझाव छ । प्रारम्भिक खगोलीय गणनालाई नै अन्तिम निर्णय मानेर दुई वर्षअघि नै निश्चित मिति घोषणा गर्नु उपयुक्त नहुने उनले बताए ।