२०८३ कार्तिक १७, सोमबार

हानि तथा नोक्सानी कोषको २० मिलियन डलर

जलवायुजन्य विपद्का पीडितका लागि २० मिलियन डलरको प्रस्ताव तयार गर्दै सरकार

जलवायुजन्य विपद्का पीडितका लागि २० मिलियन डलरको प्रस्ताव बनाउँदै सरकार
जलवायुजन्य विपद्का पीडितका लागि २० मिलियन डलरको प्रस्ताव तयार गर्दै सरकार

१६ कात्तिक, काठमाडौं । नेपाल सरकारले हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ८० करोड रुपैयाँ) बराबरको सहयोग परिचालनका लागि परियोजना प्रस्ताव तयार गर्न सुरु गरेको छ ।

कोषले नेपाललाई २१.६ मिलियन अमेरिकी डलर छुट्याउँदै त्यसमध्ये २० मिलियन डलर बराबरको परियोजना प्रस्ताव पेस गर्न आग्रह गरेपछि सरकारले प्रस्ताव लेखन र उपयुक्त कार्यान्वयनकारी संस्था छनोटको प्रक्रिया अघि बढाएको हो ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले प्रस्ताव लेखनको काम सुरु भइसकेको र मंसिर दोस्रो सातासम्म प्रारम्भिक चरण पूरा हुने जानकारी दिए ।

नेपाल सरकारले सिधै कोषमा प्रस्ताव पेस गर्न नपाउने व्यवस्था रहेकाले कोषसँग आबद्ध राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थामार्फत प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । त्यसैले सरकारले प्रस्ताव लेखनसँगै परियोजना कार्यान्वयन गर्न सक्ने र छिटो प्रक्रिया अघि बढाउन सक्ने उपयुक्त संस्था छनोटको काम पनि गरिरहेको ढकालले बताए ।

‘नेपाललाई २१.६ मिलियन अमेरिकी डलर छुट्याउने र त्यसमध्ये २० मिलियन डलर बराबरको प्रस्ताव पेस गर्न अनुरोध गर्ने निर्णय भएको छ । त्यसको आधिकारिक जानकारी पनि हामीलाई प्राप्त भइसकेको छ । हामीले समिति बनाएर प्रस्ताव लेख्ने प्रारम्भिक काम सुरु गरिसकेका छौं । हामीले प्रस्ताव लेख्ने काम र संस्था खोज्ने काम समानान्तर रूपमा अघि बढाएका छौं,’ उनले भने ।

प्रस्तावमा समेटिने कार्यक्रमको प्राथमिकता निर्धारण गर्दा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययन र राष्ट्रिय योजना आयोगले तयार पारेको विपद्पछिको आवश्यकता आकलन (पोस्ट डिजास्टर निड्स एसेसमेन्ट) प्रतिवेदनलाई आधार बनाइने ढकालले बताए ।

उनका अनुसार जलवायुजन्य विपद्बाट सबैभन्दा बढी प्रभावित समुदायको आवश्यकता प्रस्तावको केन्द्रमा रहनेछ । विशेषगरी प्रभावित महिला, बालबालिका र स्थानीय समुदायको जीवन तथा सुरक्षालाई प्राथमिकता दिइनेछ ।

‘नोभेम्बर महिनासम्म प्रस्तावको पहिलो खाका तयार गरी सकेसम्म कोषको १०औँ बोर्ड बैठकअघि नै प्रस्ताव पेस गर्ने गरी काम गरिरहेका छौं । यो प्रस्ताव जनताको जीवन र जीवन सुरक्षामा आधारित हुनुपर्छ । मुख्यगरी सबैभन्दा बढी पीडित भएका बालबालिका र महिलाको अवस्थालाई ध्यानमा राखेर प्रस्ताव बन्नुपर्छ भन्नेमा छौं,’ उनले भने ।

ढकालले २० मिलियन अमेरिकी डलर रकम परिमाणका हिसाबले ठूलो नभए पनि यसको अन्तर्राष्ट्रिय महत्व निकै रहेको बताए । नेपाललाई विशेष परिस्थितिमा उपलब्ध गराउन लागिएको सहयोगको प्रभावकारी कार्यान्वयन, त्यसबाट प्राप्त हुने नतिजा र हानि तथा नोक्सानी सम्बोधनका क्षेत्रमा स्थापित हुने उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको उनको भनाइ छ ।

‘यो २० मिलियन डलर आफैंमा धेरै रकम होइन, तर यसको सांकेतिक महत्व धेरै छ । यो परियोजना कसरी कार्यान्वयन हुन्छ, कस्तो नतिजा दिन्छ र हानि तथा नोक्सानीका क्षेत्रमा भविष्यमा अरूका लागि नजिर स्थापना गर्न सक्छ कि सक्दैन भन्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो छ,’ ढकालले भने ।

त्यसैले धेरै ठाउँमा कार्यक्रम छरिएर सञ्चालन गर्नुभन्दा निश्चित क्षेत्रमा केन्द्रित गरी नमुना परियोजनाका रूपमा कार्यान्वयन गर्ने सरकारको सोच रहेको उनले बताए । यसबाट प्राप्त अनुभव र उपलब्धिलाई अन्य क्षेत्रमा समेत विस्तार तथा पुनरावृत्ति गर्न सहज हुने अपेक्षा गरिएको छ ।

‘हामीले धेरै ठाउँमा गतिविधि छरिएर गर्नुभन्दा एकै ठाउँमा केन्द्रित गरेर एउटा रोल मोडल वा डेमोन्स्ट्रेसन इफेक्ट सिर्जना गर्न चाहेका छौं । ताकि भोलि त्यस्तै गतिविधि अन्यत्र पनि दोहोर्‍याउन र विस्तार गर्न यसले सहजीकरण गरोस्,’ मन्त्रालयका प्रवक्तासमेत रहेका ढकालले भने ।

गत अक्टोबर २२ मा बसेको हानि तथा नोक्सानी कोषको भर्चुअल विशेष बैठकले नेपाललाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

नेपालका कृषि, वन तथा पर्यावरणमन्त्री र अर्थमन्त्रीको हस्ताक्षरमा पठाइएको अनुरोधपत्रमाथि छलफल गर्दै बैठकले सर्वसम्मत रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस