
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कामकारबाही र प्रवृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन् ।
विभिन्न सञ्चारमाध्यममा पुगेर सञ्चारकर्मी पक्राउ तथा पक्राउको तयारीबारे भइरहेका घटनाप्रति प्रतिक्रिया दिँदै थापाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् ।
उनले सरकारको पछिल्लो कामकारबाही चिन्ताजनक रहेको बताए ।
‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो । प्रवृत्ति चिन्तित नै बनाउने खालको छ,’ थापाले भने ।
सरकारले आफूलाई नै राज्य ठान्ने र राज्यका निकायलाई आफ्नो आदेश पालना गर्ने संयन्त्रका रूपमा बुझ्ने प्रवृत्ति देखाएको उनको आरोप छ ।
‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो,’ उनले भने ।
थापाले वर्तमान सरकारले शक्तिको स्वेच्छाचारी प्रयोग गरिरहेको आरोपसमेत लगाए । कानुनभन्दा व्यक्तिको इच्छा र आदेशलाई माथि राख्ने प्रवृत्ति देखिएको उनको भनाइ छ ।
‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ । मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो । प्रवृत्तिले हद नाघेको छ,’ उनले भने ।
कांग्रेस सभापति थापाले सरकारको यस्तो कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै राज्यका निकाय कानुन र विधिअनुसार चल्नुपर्ने संकेत गरेका छन् ।