२०८३ कार्तिक १७, सोमबार

पत्रकार धरपकड छानबिन समिति

पत्रकार धरपकडको छानबिन गर्न संसदीय विशेष समिति बनाउन कांग्रेसको माग

पत्रकार धरपकडको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग
पत्रकार धरपकडको छानबिन गर्न संसदीय विशेष समिति बनाउन कांग्रेसको माग

१७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाउँदै पत्रकार धरपकडलगायतका घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार पक्राउ तथा सरकारसँग जोडिएका विवादित गतिविधिको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निर्वाचनबाट प्राप्त जनमत संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताए ।

पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेसको ठहर रहेको उनले जानकारी गराए ।

कांग्रेसले पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

‘पक्राउको स्पष्ट कानुनी आधार र अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन, विधिको शासनविपरीतको स्वेच्छाचारिता हो,’ बैठकको निर्णय सुनाउँदै नेता आङदेम्बेले भने, ‘यसको जवाफ सरकारले संसद् र जनतालाई दिनुपर्छ।’

उनले सरकारले कानुनी प्रक्रिया पालना नगरी ‘जे गरे पनि हुन्छ, जवाफ दिनु पर्दैन’ भन्ने प्रवृत्ति देखाएको टिप्पणी गरे ।

यस्ता गतिविधिले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाएर आफूअनुकूलको शासन लाद्ने खतरा रहेको कांग्रेसको निष्कर्ष रहेको उनले बताए ।

कांग्रेसले पत्रकार धरपकड तथा सरकारसँग जोडिएका सबै विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेको छ । साथै, घटनामा दोषी देखिएकालाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।

सरकारका राम्रा काम, जनसरोकारका विषय र सुशासनका पक्षमा कांग्रेसको समर्थन रहने भए पनि विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढे कडा प्रतिरोध गर्ने चेतावनी नेता आङदेम्बेले दिएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस