
१५ कात्तिक, काठमाडौं । तिहार तथा लक्ष्मीपूजाका दिन विद्युत् आपूर्तिमा कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । घरायसी प्रयोजनका लागि विद्युत् खपत बढे पनि उद्योग तथा कलकारखाना बन्द रहने भएकाले माग र आपूर्तिबीच सन्तुलन कायम हुने प्राधिकरणको भनाइ छ ।
लक्ष्मीपूजाका दिन घर, चोक तथा गल्ली झिलिमिली बनाउने प्रचलन रहेकाले अन्य दिनको तुलनामा विद्युत् माग बढ्ने गर्छ । यही समयमा बत्ती जाने वा विद्युत् प्रणालीमा समस्या आउने हो कि भन्ने उपभोक्ताको चासो रहने गरेको छ ।
तर, यस वर्ष भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगे पनि तिहारको विद्युत् आपूर्तिमा असर नपर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार तिहारमा घरायसी विद्युत् खपत बढे पनि ठूला उद्योग तथा कलकारखाना बन्द रहने भएकाले प्रणालीमा अत्यधिक मागको चाप पर्दैन । त्यसैले माग र आपूर्तिको व्यवस्थापन सहज हुने उनले बताएका छन् ।
‘न त अत्यधिक जाडो न गर्मी हुने मौसम र उद्योग बन्द रहने हुँदा माग र आपूर्तिको सन्तुलन सहज हुनेछ । लक्ष्मीपूजाको दिनमा समेत उत्पादनभन्दा आन्तरिक खपत कम हुने भएकाले दिनभरमा ८ देखि ९ सय मेगावाटसम्म बिजुली बचत भई निर्यात गर्न सकिने अवस्था छ,’ ढकालले बताएका छन् ।
गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को माग १ हजार ६५० मेगावाट पुगेको थियो । त्यस्तै, २०८१ सालमा १ हजार ६०२ मेगावाट, २०८० सालमा १ हजार ४३८ मेगावाट र २०७९ सालमा १ हजार ३०५ मेगावाट माग रेकर्ड भएको थियो ।
यस वर्ष पनि राष्ट्रिय विद्युत् माग १ हजार ५०० देखि १ हजार ६०० मेगावाटको हाराहारीमा रहने प्राधिकरणको अनुमान छ । काठमाडौं उपत्यकामा भने लक्ष्मीपूजाका दिन ३५० देखि ३६० मेगावाटसम्म माग हुने गरेको छ ।
प्राविधिक टोली चौबीसै घण्टा तयारी अवस्थामा
तिहारका बेला हुन सक्ने सम्भावित प्राविधिक समस्या समाधान गर्न प्राधिकरणले देशभरका प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
प्रणालीलाई भरपर्दो बनाउन ट्रान्सफर्मर फेर्ने, विद्युत् तार सुदृढ गर्ने तथा सबस्टेसनहरूको मर्मतसम्भार गर्ने कामलाई निरन्तरता दिइएको प्रवक्ता ढकालले बताएका छन् ।
तिहार अवधिभर प्राविधिक अवरोध, अनावश्यक ट्रिपिङ तथा लाइन जाने समस्या हुन नदिन मर्मत टोली, डिफेन्डर र नो लाइटका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखिएको उनले जानकारी गराएका छन् ।
बाढीले ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरियो
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछिका वर्षा र पहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुगेको थियो । बाढीका कारण करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ ।
यस्तै, सुक्खायाम सुरु भएसँगै नदीहरूमा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन पनि क्रमशः घट्न थालेको छ ।
नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार मेगावाट पुगे पनि अहिले उत्पादन घटेर ३ हजार १०० देखि ३ हजार २०० मेगावाटको हाराहारीमा रहेको प्राधिकरणले जनाएको छ ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाबाट समेत अहिले करिब ३०० मेगावाटको हाराहारीमा मात्र उत्पादन भइरहेको छ ।
यद्यपि, आन्तरिक उत्पादन घटे पनि तत्काल बिजुली आयात गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणको भनाइ छ । प्रवक्ता ढकालका अनुसार नेपाल कम्तीमा एक महिनासम्म बाहिरबाट विद्युत् खरिद नगरी आन्तरिक उत्पादनबाटै माग व्यवस्थापन गर्न सक्ने अवस्थामा छ ।
लोडसेडिङ अन्त्यको सुरुवात पनि लक्ष्मीपूजाबाटै
कुनै समय नेपालमा दैनिक १४ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । त्यसबेला लक्ष्मीपूजाका दिनसमेत उपभोक्ताले पालो कुर्दै बत्ती बाल्नुपर्ने अवस्था थियो ।
प्राधिकरणले २०७३ सालको लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकामा परीक्षणका रूपमा लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो । परीक्षण सफल भएपछि २०७५ साल वैशाखदेखि मुलुकलाई पूर्ण रूपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।
त्यसयता नेपालको विद्युत् उत्पादन क्षमता र आपूर्ति व्यवस्थापनमा सुधार हुँदै आएको छ । यस वर्ष बाढीपहिरोले विद्युत् प्रणालीमा क्षति पुर्याए पनि तिहारमा नियमित विद्युत् आपूर्ति कायम राख्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।