
१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट तथा समन्वयका लागि सातवटा उपसमिति गठन गर्नुका साथै महानगरपालिका र उपमहानगरपालिकाका वडा तहमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदन खुला गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि विभिन्न सात उपसमिति गठन गरिएको छ ।
जसअनुसार क्यान्डिडेट क्लब उपसमितिको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक र गुनासो समन्वय उपसमितिको संयोजकमा जनकसिंह धामीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई तोकिएको छ ।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले उपसमिति गठन र आवेदन प्रक्रिया सुरु गरेर आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको तयारीलाई अघि बढाएको छ ।