
४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शाहीले पार्टीमा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको बताउँदै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले राप्रपामा तीन पुस्ताको प्रतिनिधित्व रहेको उल्लेख गर्दै सबै पुस्ताको साथ र सहयोग आवश्यक रहेको धारणा राखे । युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले पुस्तान्तरण हुन नसके पार्टी नाममा मात्रै सीमित हुन सक्ने चेतावनी दिए ।
‘राप्रपामा पुस्तान्तरण हुन सकेन । हामीले पुस्तान्तरण गर्न सकेनौँ भने जनतामा जाँदा एमाले, नेकपा र कांग्रेसका नेताको घरमा गएर एक–दुई सिट माग्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।
शाहीले पार्टीका शीर्ष नेताहरूको योगदान र विचारको सम्मान गर्दै उनीहरूको सुझावसहित युवालाई नेतृत्वमा अघि बढाउनुपर्ने बताए ।
राप्रपाको महाधिवेशन मंसिरको अन्तिम सातामा हुँदैछ । महाधिवेशन नजिकिएसँगै पार्टीभित्र नेतृत्व चयनका लागि गतिविधि तीव्र हुँदै गएको छ ।