
४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाँदैछन् ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नयाँ दिल्ली भ्रमणका क्रममा हुने भेटघाट तथा कार्यक्रमबारे जानकारी गराएको हो ।
कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः१५ बजे नयाँ दिल्ली पुग्नेछन् । सोही दिन साँझ ६ बजे उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन् । उक्त भेट होटल ताजमहलमा हुने तय भएको छ । आइतबारका लागि त्यसबाहेक प्रधानमन्त्री शाहको अन्य औपचारिक कार्यक्रम राखिएको छैन ।
सोमबार बिहान १० बजे प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नेछन् ।
सोमबार मध्याह्न १२ः२५ बजे दुवै प्रधानमन्त्रीबीच सहमति तथा सम्झौताहरू आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ ।
त्यसै दिन दिउँसो ३ः१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति निवासमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री शाह दिउँसो ४ः५० बजे नयाँ दिल्लीबाट नेपाल फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
मंसिर ६ गते, आइतबार
मंसिर ७ गते, सोमबार