
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणमा राजनीतिक भेटवार्तासँगै आर्थिक कूटनीति र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिइने भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुन लागेको दुईदिने राजकीय भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता तथा नेपाल–भारतबीच व्यापार, लगानी र आर्थिक साझेदारी विस्तारका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफलसमेत आयोजना हुने जानकारी दिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने तथा मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक दिवाभोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । साथै, नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत बिजनेस फोरममा दुवै देशका व्यवसायीबीच सहकार्यका सम्भावना, नीतिगत दृष्टिकोण, व्यापार, लगानी तथा आर्थिक साझेदारीका विषयमा छलफल हुनेछ । उक्त छलफलले दुई देशबीच आर्थिक सहकार्य विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको सचिव राईले बताए ।
भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय नेपाली व्यवसायीको टोली सहभागी हुनेछ । सरकारी प्रतिनिधिमण्डलका ३४ सदस्यसहित व्यवसायी तथा सञ्चारकर्मीसमेत भ्रमणमा सहभागी हुनेछन् ।
यसैगरी, भ्रमणका क्रममा ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्रालयले प्रधानमन्त्रीको आसन्न भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
भ्रमणसम्बन्धी थप विवरण मन्त्रालयको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जनाइएको छ । भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरिने कार्यक्रमसमेत रहेको छ ।