
६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईसँगको खेल नेपालका लागि ऐतिहासिक हुनेछ।
नेपालले आजको खेल जिते आफ्नो १००औं ओडीआईलाई ५०औं जितसँगै यादगार बनाउन सक्नेछ।
नेपालले अहिलेसम्म सबैभन्दा बढी ओडीआई यूएईविरुद्ध खेलेको छ। दुई टोलीबीच भएका २० खेलमध्ये नेपालले १२ खेलमा जित निकालेको छ भने ८ खेलमा पराजित भएको छ। यूएईविरुद्ध नै नेपालले सर्वाधिक जित र हार दुवै बेहोरेको छ।
पछिल्लो पटक नेपालले यूएईसँग एसीसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो। सोही जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको थियो।
नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो ओडीआई खेलेको थियो। ऐतिहासिक पहिलो खेलमा नेपालले जित निकाल्न सकेन। नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा अलआउट भएको थियो।
तर, पहिलो खेलको दुई दिनपछि अर्थात् अगस्ट ३ मा नेपालले दोस्रो ओडीआईमै ऐतिहासिक जित निकालेको थियो। नेदरल्यान्ड्सले दिएको २१६ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक थियो। कप्तान पारस खड्काले अन्तिम ओभरमा ६ रन जोगाउँदै नेपाललाई एक रनको रोमाञ्चक जित दिलाएका थिए।
नेपालले हालसम्म खेलेका ९९ ओडीआईमध्ये ४९ खेलमा जित निकालेको छ। ४७ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा आएको छैन।
आज यूएईलाई पराजित गर्न सके नेपालले ओडीआई इतिहासमा ५०औं जित पूरा गर्नेछ। त्यससँगै आफ्नो १००औं ओडीआई खेललाई नेपाली क्रिकेटको अर्को ऐतिहासिक उपलब्धिका रूपमा दर्ज गर्ने अवसर नेपालसँग छ।