
धादिङ, असार ९ – बागमती करिडोर विकास समितिले पुनर्स्थापना रकम वितरण सम्बन्धी सूचना जारी गर्दै तोकिएको समयमा रकम बुझ्न उपस्थित नभएका लाभग्राहीलाई ५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ।
समितिले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८३ मा तोकिएको मिति र समयमा उपस्थित नभई पुनर्स्थापना रकम नबुझेका प्रभावित परिवार तथा लाभग्राहीलाई अन्तिम अवसरस्वरूप सूचना प्रकाशित गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार सम्बन्धित लाभग्राहीले आवश्यक कागजातसहित समितिको कार्यालयमा उपस्थित भई पुनर्स्थापना रकम बुझ्नुपर्नेछ। रकम प्राप्त गर्न बैंक खाता, नागरिकता लगायत आवश्यक प्रमाणपत्रहरू पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
समितिले सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र सम्पर्क गरी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। तोकिएको अवधिभित्र सम्पर्क नगरेमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्तिको नै हुने सूचनामा उल्लेख गरिएको छ।
बागमती करिडोर विकास समितिले पुनर्स्थापना रकम वितरण प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन यस्तो सूचना जारी गरिएको जनाएको छ। समितिले रकम प्राप्त गर्न बाँकी रहेका लाभग्राहीलाई समयमै सम्पर्क गरी आफ्नो हकको रकम बुझ्न अनुरोध गरेको छ।