२०८३ आश्विन ९, शुक्रबार

महिला कबड्डीमा नेपाल भारतसँग पराजित, कास्य पदकमा सीमित

महिला कबड्डीमा नेपाल
महिला कबड्डीमा नेपाल भारतसँग पराजित, कास्य पदकमा सीमित

९ असोज, काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भएको हो । भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा १७–७ को स्कोर निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो ।

यससँगै नेपाली महिला कबड्डी टोलीले कास्य पदकमा चित्त बुझाएको छ । गत संस्करणको १९औँ एसियन गेम्समा पनि नेपाल सेमिफाइनलमा भारतसँगै पराजित भएको थियो र कास्य पदक जितेको थियो ।

जारी प्रतियोगिताको समूह चरणमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग हारेको थियो । अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो ।

यससँगै जारी एसियन गेम्समा नेपालको पदक संख्या दुई पुगेको छ । यसअघि पुरुष करातेको कुमिते ८४ केजी तौल समूहमा तेन्जिङ शेर्पाले कास्य पदक जितेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस