
काठमाडौं, असार ८ — नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल लाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले यस घटनालाई राजनीतिक प्रतिशोधको श्रृंखलाको अर्को कडी भएको टिप्पणी गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली द्वारा जारी प्रेस वक्तव्यमा उपाध्यक्ष पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमको सिलसिलामा सुर्खेतमा रहेका बेला गैरकानुनी ढंगले पक्राउ गरिएको उल्लेख गर्दै उक्त कदमको घोर निन्दा तथा भर्त्सना गरिएको छ।
वक्तव्यमा एमाले सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढ रहेको उल्लेख गर्दै वर्तमान सत्तापक्षले विपक्षी दलमाथि अख्तियार गरिएको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिशोधपूर्ण व्यवहारले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको आरोप लगाइएको छ।
एमालेले उपाध्यक्ष पौडेलले आफू सुर्खेतको कार्यक्रम सकेर सोही दिन काठमाडौं फर्किने पूर्वनिर्धारित कार्यतालिका रहेको जानकारी गराएको दाबी गरेको छ। सामान्य कानुनी प्रक्रियासमेत अवलम्बन नगरी पक्राउ गरिएको भन्दै पार्टीले यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदमका रूपमा चित्रण गरेको छ।
प्रेस वक्तव्यमा सार्वजनिक पद धारण गरेका र कानुनको सम्मान गर्ने व्यक्तिलाई केवल सत्ता र राजनीतिक स्वार्थका लागि गिरफ्तार गरिएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले अधिनायकवादलाई प्रोत्साहन गर्ने चेतावनी दिइएको छ।
एमालेले सरकारलाई यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिँदै विपक्षी नेताहरूमाथि लक्षित प्रतिशोधपूर्ण हर्कतहरू निरन्तर भए त्यसको प्रतिरोध गरिने जनाएको छ।
साथै पार्टीले सरकारका ‘स्वेच्छाचारी र लोकतन्त्रविरोधी’ क्रियाकलापविरुद्ध सम्पूर्ण देशभक्त, न्यायप्रेमी तथा लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।