जेठ १३ काठमाडौँ / रौतहट प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ ।
सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाको सभाहलमा मंगलबार सम्पन्न नागरिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकसँगका गुनासो सुन्ने, समुदायका समस्या र प्रहरीले गर्नुपर्ने दायित्वको सन्दर्भमा छलफल भएको हो ।
कार्यक्रममा दुर्गा भगवती–२ का आदर्श झाले सिमापारीबाट विभिन्न प्रायोजनको लागि समान ल्याउने क्रममा सिमा कटेपछि डिउटीमा रहेको प्रहरीले दैनिक तथा महिनावारी रुपमा पैसा लिने गरेको आरोप लगाउनु हुँदै त्यस्ता गतिविधीले प्रहरीको छवि धुमिल हुँदै गएको र आमनागरिकलाइ समेत समस्या भएकोले यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
दुर्गा भगवती वडा–३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले कसैको प्रतिशोधको सिकार आम नागरिकलाई नबनाउन आग्रह गर्दै पिडितलाइ न्याय र पिडकलाई सजाय दिलाउनु प्रहरीको कर्तव्य रहेको धारणा राख्नुभयो ।
नागरिकहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले नागरिकहरुको जिउधनको सुरक्षाको साथै जिल्लामा भएका आपराधिक घटनामा प्रहरीले सशक्त भूमिका निर्वाह गर्ने गरेको बताउनुभयो ।
प्रहरी उपरीक्षक गिरीले अपराध अनुसन्धान तथा नियन्त्रण, दुर्घटना न्यूनीकरण, नागरिकहरुलाई सचेतना र शान्ति सुरक्षाका क्षेत्रमा प्रहरीले जस्तोसुकै अवस्थामा समेत दायित्व र जिम्मेवारी पुरा गरेको दावी गर्नुभयो । प्रहरीले ठाउँ ठाउँमा महिनावारी उठाएको सन्दर्भमा सुक्ष्म अनुसन्धान गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारि किरण निधि तिवारीले प्रहरीलाई प्रविधीमैत्री, अनुसन्धान केन्द्रित र नागरिकहरुलाई कर्तव्यमुखी बन्ने वातावरण तयार गर्नु पर्ने सुझाव दिनुभयो ।